मुगुका गणेश नेपालीको आत्मदाह प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ।
त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा निधन भएको थियो। उनको निधनपछि उचित राहत र न्यायको माग गर्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका थिए।
पीडित परिवारको अडानपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच विभिन्न बुँदामा सहमति जुटेको हो। सहमतिअनुसार सरकारले मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गर्ने र पत्नीलाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ। सहमतिपछि परिवारले शव बुझ्न तयार भएका छन्।
यस्तै नेपाली आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ ।
पीडित परिवारसँग भएको सहमित अनुसार उक्त दिन घटनास्थलको अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट लेखी पठाउने सहमति भएको हो।
‘घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यलय, काठमाडौंबाट लेखी पठाउने,’ सहमतिको बुँदा नम्बर ३ मा भनिएको छ।








डिसी नेपाल





Facebook Comment