क्षेत्रीय स्थायित्व र आर्थिक संकटबारे छलफल गर्न प्रचण्डको नेतृत्वमा टोली श्रीलंका प्रस्थान
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज श्रीलंका प्रस्थान गरेका छन्।
कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल पिपुल्स एसेम्बली’को आयोजनामा श्रीलंकाको कोलम्बोमा साउन ३२ देखि भदौ १ गते (जुलाई १६ देखि १८, २०२६) सम्म सञ्चालन हुने “The Asian Dialogue on Regional Stability and Economic Resilience” मा भाग लिन उनी त्यसतर्फ गएका हुन्।
नेपाली प्रतिनिधिमण्डलमा संयोजक प्रचण्डसँगै पार्टीका वरिष्ठ नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन्।
तीन दिनसम्म चल्ने यस बृहत् सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया र इन्डोनेसिया लगायतका एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलन अवधिभर वर्तमान विश्वले झेलिरहेको जलवायु परिवर्तनको असर, विश्वव्यापी तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण र नव-नाजी प्रवृत्तिको बढ्दो विस्तार, एसियाली क्षेत्रमा भइरहेको वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व र समाजवाद निर्माणका लागि एसियाली मुलुकहरूबीचको एकता र आपसी सहकार्यका विषयमा गहन छलफल हुने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिव लगायत एसियाका विभिन्न देशका दर्जनभन्दा बढी राजनीतिक नेताहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेट तथा द्विपक्षीय छलफल गर्ने कार्यतालिका तय भएको छ।
ती उच्चस्तरीय भेटवार्ताहरूमा क्षेत्रीय राजनीतिक अवस्था, आर्थिक सहकार्य, प्रगतिशील शक्तिहरूबीचको सम्बन्ध सुदृढीकरण तथा साझा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका सम्भावनाबारे विस्तृत विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment