इंल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा

डिसी नेपाल
३२ असार २०८३ ६:१९

एटलान्टा, अमेरिका। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनल खेलमा इंल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको एटलान्टास्थित मर्सिडीज-बेन्ज स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले इंल्यान्डमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै उपाधि रक्षाको यात्रा सुरक्षित गरेको हो। यस जितसँगै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ, जसले यसअघि सन् २०२२ को कतार विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि चुमेको थियो।

विश्वभरका फुटबल प्रेमीको ध्यान तानेको यस उच्च दबाबयुक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने खेलले नाटकीय मोड लियो। खेलको ५५औं मिनेटमा इंल्यान्डका युवा फरवार्ड एन्थोनी गोर्डनले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

इङल्यान्ड जिततर्फ अग्रसर भइरहँदा अर्जेन्टिनाले खेलको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्‍यो। निर्धारित समय सकिन ५ मिनेट मात्र बाँकी छँदा अर्थात् ८५औँ मिनेटमा मिडफिल्डर एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ को बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समय सुरु हुनासाथ अर्जेन्टिनाले विपक्षीमाथि दबाब बढाउन सफल भयो।

अतिरिक्त समयको दोस्रो मिनेटमा नै टोलीका भरपर्दा स्ट्राइकर लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २-१ को ऐतिहासिक जित दिलाए। यस रोमाञ्चक जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ भने इङल्यान्डको विश्वकप यात्रा सेमिफाइनलमै टुंगिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *