महिला उद्यमीको विकासका लागि सरकार प्रतिबद्ध, ‘म उद्यमी’ ब्रान्ड बजारमा ल्याउन प्रधानमन्त्रीको आग्रह

डिसी नेपाल
३२ असार २०८३ १४:२८

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको बृहत् छलफलमा उनले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोग्दै आएका सबै व्यवधान हटाउन सरकार लागिपरेको उल्लेख गर्दै उनीहरूद्वारा उत्पादित वस्तुहरूलाई देशका हरेक पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण मिलाइने जानकारी गराए।

छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले निर्धक्कसँग काम गर्न सक्ने व्यवसायमैत्री वातावरण निर्माण गर्न, उत्पादित वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विशेष कार्यक्रम ल्याउन र विभिन्न व्यापार मेला, प्रदर्शनी एवं निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको अवसर मिलाउन माग गरेका थिए।

महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै प्रधानमन्त्री शाहले उक्त ब्रान्डलाई तत्काल बजारमा ल्याउन उत्प्रेरित गरे। यसका साथै महासंघले आफ्नो वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको समेत माग गरेको छ।

महिला उद्यमीहरूलाई राज्यको खरिद प्रक्रियाको हिस्सेदार बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा प्राथमिकता दिनुपर्ने माग महासंघले राखेको छ।

उनीहरूले सबै सरकारी कार्यालय एवं शैक्षिक संस्थाहरूमा महिला उद्यमीका वस्तु तथा सेवा अनिवार्य खरिद गर्ने व्यवस्था लागू गर्न अनुरोध गरे।

हाल राज्यले दिँदै आएको वित्तीय सहुलियत वास्तविक महिला उद्योगीले नपाएको गुनासो गर्दै प्रतिनिधिहरूले यो सुविधा गाउँ-गाउँसम्म पुर्‍याउन, यसको दायरा विस्तार गर्न र पुँजी अभावकै कारण कसैको सपना नमरोस् भनी धितोको वैकल्पिक व्यवस्था मिलाउनसमेत जोडदार माग गरे।

महिला उद्यमीहरूको एकमात्र छाता संगठनका रूपमा रहेको महासंघलाई सरकारका हरेक नीति–निर्माण तह र सरकारी संयन्त्रहरूमा सहभागी गराउन उनीहरूले माग गरेका छन्।

त्यसको बदलामा स्थानीय तहमा सञ्चालन हुने सीपमूलक तालिमका लागि महासंघकै तर्फबाट उच्च दक्ष स्रोत व्यक्तिहरू जुटाइदिने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन्।

आफ्ना समस्या तथा मागहरूलाई गम्भीरतापूर्वक सुनेर तत्काल सकारात्मक पहल सुरु गरिदिनुभएकोमा महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री शाहप्रति विशेष कृतज्ञता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *