‘उपाधिभन्दा सँगैको यात्रा ठूलो उपलब्धि’: विश्वकप फाइनलअघि मेस्सीको भावुक सन्देश
काठमाडौं। फिफा विश्वकप २०२६ को फाइनल खेलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना सहकर्मी, प्रशिक्षक तथा समर्थकहरूका लागि एक भावुक सन्देश जारी गरेका छन्। उनले टोलीको सबैभन्दा ठूलो उपलब्धि कुनै उपाधि मात्र नभएर सँगै तय गरेको सुन्दर यात्रा भएको उल्लेख गरेका छन्।
युरोपियन च्याम्पियन स्पेनविरुद्ध मैदान उत्रिनुअघि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत मेस्सीले अर्जेन्टिनी टोलीलाई एउटा परिवारका रूपमा स्थापित गर्न भूमिका खेल्ने सबैप्रति आभार प्रकट गरे।
उनले विगतका वर्षहरूको सबैभन्दा सुन्दर पक्ष उपाधि मात्र नभएर कठिन समयमा एकअर्कालाई सम्हाल्दै र हरेक क्षणलाई उत्सवमय बनाउँदै सँगै अघि बढ्नु रहेको बताए।
आठ पटकका बालोन डीओर विजेता मेस्सीले खेलको नतिजा जे जस्तो आए पनि यो अर्जेन्टिनी टोलीले इतिहासमा कहिल्यै नमेटिने अमिट छाप छोडिसकेको भन्दै टोलीलाई प्रोत्साहन दिएका छन्।
न्युयोर्कको न्युजर्सी स्टेडियममा हुने यस बहुप्रतीक्षित फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने ऐतिहासिक लक्ष्यमा छ भने स्पेन सन् २०१० पछि पहिलो पटक विश्वविजेता बन्ने दाउमा छ।
अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो, जसमा एन्जो फर्नान्डेजको बराबरी गोलपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए।
अर्कातर्फ, स्पेनले फ्रान्सलाई २-० ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो, जहाँ लामिन यामालले जिताएको पेनाल्टीलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गरे भने दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थपेका थिए।
फाइनल खेलअघि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले दुवै टोलीको आक्रामक खेल शैली र प्रतिभाका कारण फाइनल भिडन्त उच्चस्तरीय एवं रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन्।
यता अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले स्पेनको खेल शैलीको विस्तृत अध्ययन गरिएको बताउँदै उपाधि रक्षाका लागि टोली आफ्नो उत्कृष्ट संस्करण प्रस्तुत गर्न तयार रहेको स्पष्ट पारे।
३९ वर्षको उमेरमा पनि टोलीलाई अर्को विश्वकप फाइनलमा पुर्याएका मेस्सीको विशेष प्रशंसा गर्दै स्कालोनीले उनलाई फुटबल इतिहासकै महान् खेलाडीका रूपमा स्मरण गरे।






डिसी नेपाल





Facebook Comment