फिफा विश्वकप २०२६: न्यूयोर्क फाइनलको टिकट मूल्य ऐतिहासिक २३ लाख डलरको कीर्तिमानी उचाइमा
काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा आज हुन गइरहेको फिफा विश्वकप २०२६ को ऐतिहासिक फाइनल खेलको अन्तिम समयको टिकट खरिद गर्न कुनै पनि व्यक्ति अर्बपति हुनुपर्ने स्थिति सिर्जना भएको छ।
अमेरिकी इतिहासकै ‘सबैभन्दा महँगो खेलकुद इभेन्ट’ को रूपमा हेरिएको यस महाभिडन्तको एउटा सिटका लागि पुनर्खरिद (रिसेल) बजारमा टिकटको मूल्य खेल सुरु हुन २४ घण्टाभन्दा कम समय बाँकी छँदा २३ लाख अमेरिकी डलर (करिब ३५ करोड नेपाली रुपैयाँ) नाघेको छ।
विश्व फुटबलका सर्वकालीन महान् खेलाडी लियोनेल मेस्सीको अर्जेन्टिना र स्पेनका उदीयमान युवा सुपरस्टार लामिने यामालबीचको यो भिडन्तलाई लिएर खेलप्रेमीहरू माझ अभूतपूर्व क्रेज देखिएको छ।
शुक्रबारसम्म फिफाको आधिकारिक बिक्री मञ्चमा प्रतिटिकट ३२,००० डलरका दरले राखिएका केही सिटहरू पूर्ण रूपमा बिक्री भइसकेका थिए भने शनिबार आउँदा आधिकारिक प्लेटफर्ममा कुनै पनि साधारण टिकट उपलब्ध थिएन। तर, फिफाकै आधिकारिक रिसेल बजारमा भने टिकटको मूल्य न्यूनतम १०,००० डलरदेखि अधिकतम २३ लाख डलरसम्म सूचीबद्ध गरिएको छ।
यस वर्षको विश्वकप सुरु हुनुअघि अमेरिकाको आन्तरिक राजनीतिक अस्थिरता र कडा भिसा नीतिका कारण रङ्गशालाहरू खाली हुने आशंका गरिए पनि फिफाको व्यापारिक रणनीति पूर्ण रूपमा सफल भएको छ। टिकट व्यवस्थापन विज्ञ स्कट फ्राइडम्यानका अनुसार फिफाले बजारको मागलाई सुरुमै राम्रोसँग आँकलन गरेर उच्च मूल्य निर्धारण गरेको थियो।
सुरुमा समूह चरणका खेलहरूका लागि न्यूनतम ५७५ डलर तोकिएको थियो, जुन सन् २०२२ को कतार विश्वकपको तुलनामा दोब्बरभन्दा बढी हो। खेल सुरु हुनु केही दिनअघिसम्म पनि ७,००० डलर हाराहारीमा टिकटहरू उपलब्ध हुनु र अन्तिम समयमा एकाएक मूल्य आकाशिनुको पछाडि फिफाको ‘स्लो टिकेटिङ’ रणनीतिले काम गरेको फ्राइडम्यानको विश्लेषण छ।
यस प्रक्रिया अन्तर्गत आयोजकहरूले बजारमा माग र आकर्षण बढाउनका लागि सुरुमा थोरै मात्र टिकट उपलब्ध गराउँछन् र सिटहरू सकिन लागेको भ्रम सिर्जना गरेर क्रेताहरूलाई महँगो मूल्यमै किन्न बाध्य पार्छन्।’
यस पटक फिफाले पहिलो पटक हवाई भाडा जस्तै मागका आधारमा रियल-टाइममा मूल्य घटबढ हुने ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरेको थियो। कोलम्बिया विश्वविद्यालयका सह-प्राध्यापक एडम एल्माक्टोबका अनुसार यति ठूलो र प्रतिष्ठित खेलमा मूल्य निर्धारणको यस्तो अपारदर्शी प्रणालीले समर्थकहरूमाझ ठूलो असन्तुष्टि र आक्रोश पैदा गरेको छ।
सर्वसाधारण र स्थानीय न्युयोर्कबासीको पहुँचका लागि न्यूयोर्कका मेयर जोहरान ममदानी लगायतका राजनीतिज्ञहरूले दबाब दिएपछि फिफाले केही सस्तो टिकटहरू उपलब्ध गराए पनि त्यो हात्तीको मुखमा जीरा जस्तै सावित भयो।
रोयटर्स समाचार एजेन्सीको विश्लेषण अनुसार, चर्को मूल्यका बाबजुद इतिहासकै सबैभन्दा ठूलो ४८ टोली सहभागी यस विश्वकपका ७२ समूह चरणका खेलहरूमा ९९.७ प्रतिशत सिटहरू भरिएका थिए।
अमेरिकाको खुकुलो रिसेल बजार नीतिका कारण यहाँ टिकट दलाल तथा पुनर्विक्रेताहरूले आफ्नो मनोमानी ढङ्गले मूल्य तोक्न पाएका छन्, जुन सह-आयोजक मेक्सिको वा विश्वका अन्य देशहरूको कानुन विपरीत हो (मेक्सिकोमा खरिद मूल्यभन्दा बढीमा टिकट बेच्न पाइँदैन)।
टिकट बिक्री गर्ने प्रमुख अनलाइन माध्यम ‘सीटगीक’ का अनुसार यो फाइनल खेल सन् २०२४ को प्रसिद्ध ‘सुपर बाउल’ भन्दा ८ प्रतिशत महँगो बन्दै इतिहासकै सबैभन्दा खर्चिलो खेलकुद इभेन्ट बनेको छ।
मानवअधिकारवादी तथा फुटबल समर्थक संघका विज्ञहरूले भने फिफाको यस कदमको कडा आलोचना गरेका छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई इतिहासकै सबैभन्दा समावेशी विश्वकप बनाउने वाचा गरे तापनि युरोपेली वा धनी राष्ट्रका नागरिक बाहेक अन्य गरिब मुलुकका वास्तविक फुटबल प्रशंसकहरू भिसा प्रतिबन्ध र यो चर्को ‘अमानवीय’ मूल्यका कारण खेल हेर्नबाट बञ्चित भएका छन्।
‘फुटबल समर्थक युरोप’ का कार्यकारी निर्देशक रोनान इभानले आक्रोश व्यक्त गर्दै भने, “यो विश्वकप केवल केही सीमित धनी र भाग्यमानीहरूका लागि मात्रै आयोजना गरिएको जस्तो देखियो। फुटबल जुन सुरुमा श्रमिक र सर्वसाधारण वर्गको खेल थियो, त्यो अब केवल सम्भ्रान्त र पूँजीपतिहरूको विलासिताको माध्यम बन्न पुगेको छ।”






डिसी नेपाल





Facebook Comment