‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन सम्बोधन र उच्चस्तरीय राजनीतिक भेटघाट सकेर प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने महत्त्वपूर्ण राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
आज बिहान श्रीलंकाबाट प्रस्थान गरेका संयोजक प्रचण्ड पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहान ११:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा उनलाई पार्टीका वरिष्ठ नेताहरू, पदाधिकारी तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।
यही जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका प्रचण्डले त्यहाँ रहँदा इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए।
उनले सम्मेलनको उद्घाटन र समापन दुवै सत्रलाई विशेष सम्बोधन गरे। उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका पछिल्ला परिवर्तन, साम्राज्यवाद र नवउदारवादले निम्त्याएका चुनौती, दक्षिण एशियाली जनआन्दोलनहरूका ऐतिहासिक अनुभव तथा २१औँ शताब्दीमा समाजवादको राजनीतिक रूपरेखा कस्तो हुनुपर्छ भन्नेबारे आफ्नो तार्किक दृष्टिकोण प्रस्तुत गरेका थिए।
त्यसैगरी, समापन सत्रमा बोल्दै उनले एशियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई अझ सुदृढ बनाउनका लागि अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच आपसी सहकार्य अपरिहार्य रहेको धारणा राखे।
भ्रमणकै क्रममा संयोजक प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरमलाई एक विशेष अन्तर्वार्ता समेत दिएका थिए। उक्त अन्तर्वार्तामा उहाँले नेपालको ऐतिहासिक शान्ति प्रक्रिया, जनयुद्धको जगबाट स्थापित लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्रा, समकालीन विश्व राजनीतिमा वामपन्थी आन्दोलनले भोग्नुपरेका चुनौतीहरू तथा नेपालको समाजवादी रूपान्तरणको भावी कार्यदिशाबारे विस्तृत रूपमा प्रकाश पारे।
श्रीलंका बसाइका क्रममा उनले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक दलका शीर्ष नेतृत्वसँग उच्चस्तरीय दुईपक्षीय भेटवार्ता गरे। उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग भेट गरी नेपाल र श्रीलंकाको कम्युनिस्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण तथा अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीचको सहकार्य विस्तारबारे फलदायी विचार आदानप्रदान गरे।
यसैगरी, श्रीलंकाको सत्तारुढ दल जनता विमुक्ति पेरामुना (जेभीपी) का महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरो टोलीसँग भएको छुट्टै विशेष भेटवार्तामा दुई देशका कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, दक्षिण एशियामा वामपन्थी सहकार्यको आवश्यकता, सुशासन, आर्थिक विकास तथा जनमुखी नीतिका व्यावहारिक अनुभवबारे विस्तृत छलफल भएको थियो।
उक्त भेटमा नेपाल र श्रीलंकाका प्रगतिशील शक्तिहरूबीचको द्विपक्षीय राजनीतिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा समेत दुवै पक्षबीच सहमति भएको छ।
यसका साथै उनले सम्मेलनमा विभिन्न देशबाट सहभागी हुन आएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गर्दै आपसी सम्बन्ध विस्तार गरे।
यो भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका मौलिक अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न र दक्षिण एशियाली वामपन्थी शक्तिहरूसँगको कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई नयाँ उचाइ दिन महत्त्वपूर्ण योगदान पुर्याएको पार्टीले जनाएको छ।






डिसी नेपाल





Facebook Comment