वैशाखयता विपद्का घटनामा परि १६६ जनाको मृत्यु
काठमाडौं। गत वैशाख महिनादेखि हालसम्म भएका विभिन्न विपद्का घटनामा परेर देशभर १६६ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस चार महिनाको अवधिमा कुल तीन हजार ४३५ वटा विपद्का घटनाहरू दर्ता भएका छन्।
यी प्राकृतिक तथा गैरप्राकृतिक विपद्का कारण ९८८ जना घाइते भएका छन् भने चार हजार ५३१ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्, जसको सङ्ख्या ९१४ रहेको छ।
त्यस्तै, यस अवधिमा पहिरोका ४९५, हुरीबतासका ४७८, बाढीका १७१, चट्याङका २२९ र सर्पदंशका ५३५ वटा घटना घटेका छन्। यसका साथै डढेलोका १९१, जनावरको आक्रमणका १९०, भारी वर्षाका १६६, लेक लागेका ५५, असिनाका चार, हिउँपहिरोका दुई, डुङ्गा पल्टिएको एक र अन्य चार वटा विपद्का घटनाहरू भएका छन्।
यसैबीच, पछिल्लो २४ घण्टामा मात्रै (साउन २ गते बिहानदेखि ३ गते बिहानसम्म) देशभर कुल ५८ वटा विपद्का घटना दर्ता भएका छन्। देशका ४५ जिल्ला प्रभावित बनाएको उक्त पछिल्लो विपद्का कारण तीन जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।






डिसी नेपाल





Facebook Comment