फिफा विश्वकप २०२६ बाट १५ अर्ब डलर कीर्तिमानी आम्दानी, सदस्य राष्ट्रहरूलाई अनुदान बढ्ने
काठमाडौं। फिफा विश्वकप २०२६ ले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का लागि ऐतिहासिक आर्थिक सफलता दिलाएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि अनुमान गरिएको ११ अर्ब डलरभन्दा उल्लेखनीय रूपमा बढी हो।
फिफाले आफ्ना सदस्य राष्ट्रका फुटबल सङ्घहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज तथा दोस्रो बजार (सेकेन्डरी मार्केट) मा भएको टिकट कारोबारका कारण आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो। सेकेन्डरी बजारमा टिकट खरिद-बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५-१५ प्रतिशत सेवा शुल्क लिने व्यवस्था गरेको थियो।
यस कीर्तिमानी आम्दानीपछि विश्वभरका सदस्य फुटबल सङ्घहरूले पाउने आर्थिक सहयोग वृद्धि हुने अपेक्षा गरिएको छ। यद्यपि, उक्त रकम कुन ढाँचा र आधारमा वितरण गर्ने भन्ने विषयमा फिफाले अन्तिम निर्णय गर्न बाँकी नै छ।
“विश्वकप आयोजनाका क्रममा विभिन्न विवाद र आलोचना झेलेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय सफलता ठूलो राहत बनेको छ।”
आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि नै इन्फान्टिनोले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ। विश्वकपको ठूलो आम्दानीका कारण थप अनुदानको आसमा रहेका धेरै सदस्य सङ्घहरूले पनि अहिले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छैनन्।
यसैबीच, प्रतियोगिताको वित्तीय सफलतासँगै भविष्यमा अमेरिकाले पुनः विश्वकप आयोजना गर्ने सम्भावना बलियो बनेको छ। सन् २०३८ को विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र (बिडिङ) खुल्ने तयारी भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका फेरि विश्वकप आयोजना गर्न इच्छुक रहेको बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले यसपटक भने क्यानडा र मेक्सिकोलाई सह-आयोजक नबनाई अमेरिका एक्लैले आयोजना गर्ने चाहना व्यक्त गरेका छन्।






डिसी नेपाल





Facebook Comment