‘राष्ट्रिय इन्जिनियर दिवस’ घोषणा गर्न इन्जिनियर्स एसोसियसनको माग: युवा पलायन रोक्न ठोस नीतिको आवश्यकता

डिसी नेपाल
४ साउन २०८३ १२:३८

काठमाडौं। नेपाल इन्जिनियर्स एसोसियसनले प्रत्येक वर्ष साउन ३ गते मनाइने इन्जिनियर दिवसलाई सरकारले औपचारिक रूपमा ‘राष्ट्रिय इन्जिनियर दिवस’ घोषणा गरी सरकारी क्यालेन्डरमा समावेश गर्न माग गरेको छ।

एसोसियसनको ६४औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुवासचन्द्र बरालले पूर्वाधार र प्रविधि राष्ट्रिय आर्थिक विकासको मेरुदण्ड भएकाले इन्जिनियरिङ क्षेत्रलाई प्राथमिकतामा राखेर दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने बताए।

नेपालमा दर्ता भएका करिब एक लाख इन्जिनियरमध्ये ६० प्रतिशत युवा रहे तापनि पर्याप्त अवसरको अभावमा ठूलो सङ्ख्यामा दक्ष जनशक्ति विदेश पलायन भइरहेकोमा अध्यक्ष बरालले चिन्ता व्यक्त गरे।

उनका अनुसार युवा इन्जिनियरको पलायन रोक्न र उनीहरूको सीपको सदुपयोग गर्न राज्य, उद्योग र इन्जिनियरिङ समुदायबिच बलियो सहकार्य आवश्यक छ। यस वर्षको दिवस ‘Young Mind and Engineering: Shaping Better Nepal’ भन्ने मूल नाराका साथ मनाइएको हो।

विकास निर्माणमा संलग्न प्राविधिकहरूले कार्यस्थलमा असुरक्षा, प्रशासनिक झन्झट र अनावश्यक दबाब झेल्नुपरिरहेको भन्दै यसले आयोजनाको गति प्रभावित भएको एसोसियसनको भनाइ छ।

समस्या समाधानका लागि क्षमताको उपयोग अनुसार पुरस्कार र दण्डको स्पष्ट प्रणाली लागू गर्न, कार्यस्थलमा सुरक्षित वातावरणको कानुनी प्रत्याभूति दिन र छुट्टै ‘इन्जिनियरिङ सेवा आयोग’ गठन गर्न माग गरिएको छ।

यसैगरी, रणनीतिक सरकारी निकायको नेतृत्व तहमा प्राविधिक पृष्ठभूमिका इन्जिनियरहरूको प्रतिनिधित्व गराउन, निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियरहरूको न्यूनतम मासिक पारिश्रमिक ३७,१३५ रुपैयाँ कार्यान्वयन गर्न र प्राविधिक त्रुटिलाई स्वतः भ्रष्टाचारको कसुरअन्तर्गत नराख्ने कानुनी व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गरिएको छ।

अध्यक्ष बरालले पेसागत मर्यादा र नैतिकतालाई प्राथमिकतामा राख्दै समृद्ध नेपाल निर्माणमा योगदान दिन सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टहरूलाई आह्वान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *