इन्द्रचोकमा साढे पाँच दशकदेखि पोते उन्नैमा तल्लीन खालिद दिन: पुर्ख्यौली पेसा जोगाउने ध्याउन्न

डिसी नेपाल
४ साउन २०८३ १३:४८

काठमाडौं। काठमाडौंको ऐतिहासिक इन्द्रचोकको गल्लीमा बसेर पोते बुन्ने र उन्नैमा आफ्नो जीवनका करिब साढे पाँच दशक बिताइसेका खालिद दिन आज पनि सोही काममा तल्लीन छन्। उनी आफूलाई इन्द्रचोकका वर्तमान पोते व्यवसायीहरूमा सबैभन्दा पुराना कालीगडका रूपमा चिनाउँछन्।

“सायद म नै यो ठाउँमा पोते बनाउने सबैभन्दा पुरानो व्यक्ति हुँ,” खालिद भन्छन्, “सामग्रीहरू बाहिरबाट आउँछन्, म भने तिनलाई उनेर पोते, नौगेडी, छड्केलगायतका माला र गहना तयार पार्छु।”

कुनै समय इन्द्रचोकमा पोते बनाउने व्यवसाय निकै फस्टाएको उनको अनुभव छ। पहिले यही पेसाबाट परिवार पाल्न, बालबच्चालाई पढाउन र घरखर्च चलाउन निकै सहज हुने गरेको उनी सम्झिन्छन्।

तर पछिल्ला वर्षहरूमा व्यापार भने क्रमशः घट्दै गएको उनी बताउँछन्। “पहिला राम्रै थियो, बालबच्चालाई पढाइयो, सबै कुरा पुग्थ्यो। अहिले भने बिहान-बेलुकाको खानलाउनलाई ठिक्क हुन्छ,” उनले भने।

बुबा-बाजेबाट सिकेको यो पेसालाई उनले अहिलेसम्म निरन्तरता दिँदै आएका छन्। जीवनको अन्तिम समयसम्म यही पुख्र्यौली पेसामा रमाउने उनको अठोट छ। इन्द्रचोकमा पोतेको व्यापार विशेषगरी साउन महिना र तीजजस्ता चाडपर्वका समयमा बढी हुने भए पनि अन्य समयमा भने व्यापार सामान्य नै रहने गर्छ। ग्राहकको रोजाइ र डिजाइन अनुसार पोतेको मूल्य ५०-६० रुपैयाँदेखि लिएर नौगेडीको चार-पाँच सय रुपैयाँसम्म पर्ने उनी बताउँछन्।

खालिद दिनका छोरा जमुद्दिन पनि विगत २५ वर्षदेखि (सन् २००१ देखि) यही पुख्र्यौली व्यवसायमा सक्रिय छन्। ठमेलका स्थायी बासिन्दा जमुद्दिन आफू चौथो पुस्ताका रूपमा यो पेसामा जोडिएको बताउँछन्। तर, पछिल्लो समय बजारको बदलिँदो शैली, सुनको मूल्य वृद्धि र रेडिमेड सामग्रीको बढ्दो प्रयोगले व्यापारमा नकारात्मक असर पारेको उनको भनाइ छ।

“अहिले ग्राहकहरूले परम्परागत रूपमा उनिने पोतेभन्दा बजारमा पाइने रेडिमेड रातो-हरियो माला बढी रोज्न थालेका छन्,” जमुद्दिन भन्छन्। उनका अनुसार इन्द्रचोकमा पोते बनाउन प्रयोग हुने कच्चा पदार्थ (काँचका दाना) मुख्यगरी जापान, चेक रिपब्लिक र चीनबाट आयात हुने गर्छ। व्यवसायीहरू मिलेर ठूलो परिमाणमा बाहिरबाट सामग्री मगाउने गर्छन्।

बदलिँदो बजार र उपभोक्ताको आधुनिक रुचिका कारण पुस्तौंदेखि चल्दै आएको यो पेसालाई आगामी पुस्ताले निरन्तरता देलान् भन्नेमा जमुद्दिन विश्वस्त छैनन्। यद्यपि, चुनौतीकाबीच पनि खालिद दिन र जमुद्दिनजस्ता कालीगडहरूले काठमाडौंको सांस्कृतिक पहिचानसँग जोडिएको यो परम्परागत सीपलाई अझै जीवितै राखिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *