बागमती सरकारबाट एमाले तत्काल नबाहिरिने, निर्णयका लागि केन्द्रकै मुख ताक्दै
काठमाडौं। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिने र सरकार छाड्ने भनी फैलाइएका खबरहरूबीच पार्टी केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने स्पष्ट पारेका छन्।
सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै हतारमा निर्णय नगर्ने र केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा रहने निष्कर्ष निकालेको हो।
यसअघि, सत्ता गठबन्धन र मन्त्रालय पुनर्संरचनाका कारण एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ६ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिने चर्चा चलेको थियो।
तर, संसदीय दलको बैठकपछि बिनाविभागीय मन्त्री किरण थापाले सञ्चारमाध्यममा आएका राजीनामाका समाचार केवल हल्ला मात्रै भएको दाबी गरे। उनले पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै स्पष्ट निर्देशन नआएको र केन्द्रबाट जे निर्देशन आउँछ, सोहीअनुसार निर्णय लिइने बताए।
यस्तै, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि बदलिँदो राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै हतारमा सरकार छाड्ने निर्णय नगरिएको जानकारी दिए।
उनका अनुसार पार्टी केन्द्र र अन्य राजनीतिक दलहरूसँगको संवाद एवं परामर्शपछि मात्रै बागमती सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा अन्तिम निर्णय हुनेछ। बैठकमा सहभागी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलले हालका लागि नेपाली कांग्रेससँगको सत्ता सहकार्य यथावत् रहेको र मन्त्रालयका नियमित कामकारबाहीहरू सञ्चालन भइरहने स्पष्ट पारे।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा रहेको बागमती सरकारमा एमालेका ६ जना मन्त्रीहरू सहभागी छन्। प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेपछि एमालेका मन्त्रीहरू बिनाविभागीय अवस्थामा रहेका भए पनि आधिकारिक निर्णय नआउँदासम्म सरकार नछाड्ने अडानमा एमाले पुगेको छ।






डिसी नेपाल





Facebook Comment