लहानमा नास्पातीको बोराभित्र लुकाएर राखिएको गाँजा बरामद, गाडीसहित तीनजना नियन्त्रणमा

डिसी नेपाल
७ साउन २०८३ ७:०७

सिराहा। सिराहाको लहानबाट नास्पातीको क्रेट र बोराभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। लहान नगरपालिका-३ नयाँ बस्ती टोलबाट गाँजा र गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार साँझ विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

स्थानीय श्याम कुमारी साहको घर अगाडि पार्किङ गरी राखिएको बा २१ च ५८६६ नम्बरको योद्धा पिकअप गाडी शङ्कास्पद देखिएपछि प्रहरीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा गाडीको पछाडिको भागमा नास्पातीका क्रेटहरूसँगै सेतो प्लाष्टिकको बोरामा लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट गाँजा जस्तो देखिने पदार्थ ३१ बोरा (प्लाष्टिकसहित ६५३ किलो र प्लाष्टिकबाहेक ६५२ किलो), ९२० किलो नास्पातीसहितका ४६ वटा क्रेट र उक्त पिकअप गाडी जफत गरेको छ।

पक्राउ पर्नेहरूमा लहान-३ नयाँ बस्तीकी ३८ वर्षीया श्याम कुमारी साह, भारतको बिहार राज्य मधुबनी घर भई हाल लहान-३ मा बस्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साह रहेका छन्। नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *