दाताको सहयोगमा क्षतिग्रस्त मालपोत कार्यालयमा खानेपानी र शौचालय पुनर्निर्माण
डिसी नेपाल
७ साउन २०८३ ९:४५
चितवन। जेनजी प्रदर्शनका क्रममा भएको आगलागीबाट क्षति पुगेको भरतपुरस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा सेवाग्राहीका लागि खानेपानी तथा शौचालयको पुनःव्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का निवर्तमान अध्यक्ष आरके शर्माको सहयोगमा कार्यालय परिसरभित्र खानेपानीको संरचना निर्माण गर्नुका साथै शौचालयको पुनर्निर्माण गरिएको हो।
कार्यालय प्रमुख निरबहादुर दाहालले नयाँ संरचनाबाट कार्यालयमा आउने सेवाग्राहीलाई थप सहज हुने बताए। उनले दैनिक सेवा लिन आउने नागरिकलाई खानेपानी र शौचालयको सुविधा उपलब्ध भएपछि सेवा प्रवाहमा समेत सहयोग पुग्ने बताए।
प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलनपछि जिल्लामा क्षति भएका सरकारी कार्यालयका पूर्वाधार पुनर्निर्माणका लागि विभिन्न दातासँग सहयोग मागेर काम अघि बढाइएको जानकारी दिए।
एनआरएनएका निवर्तमान अध्यक्ष शर्माले सेवाग्राहीलाई खानेपानीको समस्या नहोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत संरचना निर्माणमा सहयोग गरेको बताए।
जेनजी प्रदर्शनका क्रममा चितवनका विभिन्न सरकारी तथा सार्वजनिक संरचनामा क्षति पुगेको थियो। तीमध्ये केही संरचनाको पुनर्निर्माण तथा मर्मत कार्य अहिले पनि जारी रहेको छ।
Facebook Comment