डा. गोविन्द केसीद्वारा धनगढीमा आमरण अनसन सुरु

डिसी नेपाल
७ साउन २०८३ १६:०६

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आफ्ना ५ बुँदे माग सम्बोधन नभएको भन्दै आज साउन ७ गतेदेखि कैलालीको धनगढीमा पुनः आमरण अनसन (सत्याग्रह) सुरु गरेका छन्।

सरकारलाई माग पूरा गर्न दिएको साउन ५ गतेसम्मको अन्तिम समयसीमा बेवास्ता गरिएपछि बाध्य भएर सत्याग्रहमा बस्नुपरेको डा. केसीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार आज दिउँसो ३ बजे धनगढीस्थित कृष्णमन्दिर परिसरको धर्मशालामा पत्रकार सम्मेलनमार्फत उनले अनसनका बारेमा थप जानकारी गराउने तयारी गरेका छन्।

यस्ता छन् डा केसीमा माग

१. स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस्।

२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस्।

३. ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्। साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस्।

४. सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस्।

५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *