मध्यपूर्वमा तनाव उत्कर्षमा: डोनाल्ड ट्रम्पद्वारा इरानमाथि भारी हमलाको चेतावनी, कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
काठमाडौं । मध्यपूर्वी क्षेत्रमा शान्ति र स्थिरताको साटो अवस्था दिनप्रतिदिन झनै भयावह र अनियन्त्रित बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गम्भीरतापूर्वक कूटनीतिक वार्ता नगरेमा उसमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो र विनाशकारी सैन्य हमला गर्ने खुला चेतावनी दिएका छन्।
जुन महिनामा भएको युद्धविराम भङ्ग भएसँगै होर्मुज जलडमरूमध्यमा तनाव चरम विन्दुमा पुगेको छ। विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गलाई ठप्प पार्ने इरानको धम्की र अमेरिकी जवाफी रणनीतिले विश्व अर्थतन्त्रलाई नै तरङ्गित बनाएको छ।
ट्रम्पले ‘एक्सियोस’ लाई दिएको अन्तर्वार्तामा इरानमाथि अझै पर्याप्त दबाब नपुगेको भन्दै अमेरिकी सेनाले लगातार ईरानी सैन्य ठेगानाहरूमा रातभर हमला गरिरहेको पुष्टि गरेका छन्। यस तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।
सन् २०२६ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि ‘अपरेशन एपिक फ्युरी’ नाम दिई व्यापक सैन्य आक्रमण सुरु गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलगायत धेरै उच्च राजनीतिक तथा सैन्य नेतृत्वको मृत्यु भएको थियो। त्यसको जवाफमा इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडाहरूमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको थियो भने लेबनानबाट हिज्बुल्लाहले इजरायलमाथि आक्रमण तीव्र बनाएको थियो।
सन् २०२६ अप्रिलमा दुवै पक्षबीच युद्धविराम भए तापनि त्यो लामो समय टिक्न सकेन। जुन महिनामा इरानले होर्मुज जलडमरूमध्यबाट गुज्रिने केही व्यापारिक जहाजहरूमाथि आक्रमण गरेपछि तनाव पुनः उत्कर्षमा पुग्यो। ट्रम्प प्रशासनले जलमार्गको अवरोधलाई आफ्नो ‘रेड लाइन’ (अन्तिम सीमा) मान्दै इरानलाई सभ्यता नै समाप्त पारिदिने तहको चेतावनी दिएको छ।
विश्लेषकहरूका अनुसार ट्रम्पको यो चेतावनी आंशिक रूपमा चुनावी र रणनीतिक दुवै उद्देश्यले प्रेरित छ। ट्रम्प इरानलाई आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा त्याग्न र क्षेत्रमा सक्रिय रहेका हमास, हिज्बुल्लाह जस्ता ‘प्रक्सी’ समूहहरूलाई सहयोग नगर्न बाध्य पार्न चाहन्छन्। अर्कोतर्फ, उनी तेलको मूल्य नियन्त्रणमा राख्दै साउदी अरब, युएई र कतार जस्ता खाडी मुलुकहरूलाई सुरक्षाको प्रत्याभूति दिन चाहन्छन्।
यद्यपि, धेरै विज्ञहरू यसलाई ट्रम्पको रणनीतिक धम्की मात्र पनि मान्छन्। किनभने पूर्ण रूपमा युद्धमा होमिँदा अमेरिका स्वयंले ठूलो सैन्य क्षति, तेलको मूल्यमा अनियन्त्रित वृद्धि र नयाँ शरणार्थी सङ्कटको सामना गर्नुपर्ने हुन्छ।
आर्थिक रूपमा निकै कमजोर भए पनि इरान सैन्य रूपमा सशक्त मानिन्छ। उससँग ब्यालिस्टिक क्षेप्यास्त्रको ठूलो भण्डार छ। इरानको सबैभन्दा ठूलो हतियार भनेकै होर्मुज जलडमरूमध्य बन्द गराइदिने क्षमता हो। यदि आफूमाथि पूर्ण आक्रमण भएमा सिङ्गो मध्यपूर्वी क्षेत्रलाई नै अस्तव्यस्त बनाइदिने चेतावनी इरानले दिएको छ।
इरानसँग हिज्बुल्लाह र हुथी जस्ता सशक्त लडाकु समूहहरूको सञ्जाल छ। लेबनानको दक्षिणी क्षेत्रबाट इजरायली सेना पछि हट्न अस्वीकार गर्नु पनि युद्धविराम कार्यान्वयनमा मुख्य बाधा बनेको छ। खाडी मुलुकहरू भने सार्वजनिक रूपमा शान्तिको अपिल गर्दै पर्दापछाडि अमेरिकाको रणनीतिलाई समर्थन गरिरहेका छन्।
यदि यो युद्ध अझैलम्बिएमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० देखि २०० डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ, जसले भारत, नेपाल र एसियाली मुलुकहरूमा अनियन्त्रित महँगी बढाउनेछ।
जहाज कम्पनीहरूले होर्मुजको सट्टा लामो समुद्री मार्ग अपनाउन थालेकाले ढुवानी लागत अत्यधिक बढेको छ। इरानका निकट मित्र मानिने रुस र चीनको भूमिकाले पनि विश्वव्यापी आपूर्ति शृङ्खलामा ठूलो सङ्कट निम्त्याउने खतरा छ।
मध्यपूर्वमा शान्ति कायम गर्नु यतिबेला निकै जटिल बनेको छ। इरानमाथि कूटनीतिक दबाब सिर्जना गर्नु एउटा कुरा हो, तर पूर्ण युद्धको सुरुवातले सिङ्गो विश्वलाई नै महाविपत्तिमा धकेल्न सक्छ। त्यसैले अहिले विश्व समुदायको नजर होर्मुज जलमार्ग खुला राख्न र वार्ताद्वारा नै कुनै कूटनीतिक निकास खोज्नमा केन्द्रित छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment