फ्रान्समा १५ वर्षमुनिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी

डिसी नेपाल
८ साउन २०८३ ११:२३

पेरिस। फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

फ्रान्सेली संसद्ले यससम्बन्धी विधेयकको पक्षमा मतदान गरेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत समर्थन गर्ने सांसदहरूलाई धन्यवाद दिँदै यो निर्णय छिट्टै कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

संवैधानिक परिषद्को अन्तिम निर्णयमा निर्भर रहने यो व्यवस्था लागू भएसँगै फ्रान्स बालबालिकाका लागि सामाजिक सञ्जालमा उमेरको प्रतिबन्ध लगाउने युरोपेली संघको पहिलो देश बन्नेछ। राष्ट्रपति म्याक्रोनले आफ्ना बालबालिकालाई अनलाइन क्षेत्रका जोखिम र असुरक्षाबाट जोगाउन सम्पूर्ण अभिभावकहरूलाई समेत आग्रह गरेका छन्।

बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै सामाजिक सञ्जालमा उमेर हद तोक्ने लहर विश्वभर नै बढ्दो क्रममा देखिएको छ।

यसअघि अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ भने बेलायतले पनि १६ वर्षमुनिका बालबालिकाका लागि यस्तै प्रतिबन्धको घोषणा गरिसकेको छ।

बेलायती प्रधानमन्त्री कीर स्टारमरले सामाजिक सञ्जालका कारण बालबालिकाहरू खेलकुद, पर्याप्त निद्रा र पारिवारिक समयबाट टाढिँदै मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेकाले यस्तो कदम समयको आवश्यकता भएको बताएका थिए।

त्यसै गरी जापानले पनि साना उमेरका प्रयोगकर्ताको सुरक्षाका लागि कडा उमेर प्रमाणीकरण र सामाजिक सञ्जाल सञ्चालकहरूको जिम्मेवारी बढाउने नीति अघि सारेको छ भने स्पेन र डेनमार्कजस्ता देशहरूले पनि यस्तै प्रतिबन्धबारे विचार गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *