वेदिका केसी हाजिर जमानीमा रिहा

डिसी नेपाल
८ साउन २०८३ १३:४७

काठमाडौँ । कथावाचिका राधिका दासीविरुद्ध सामाजिक सञ्जालमा भ्रम फैल्याएको र चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानीमा छुटेकी छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार पक्राउ गरेकी केसीलाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि एक दिनको मात्र म्याद दिएपछि उनी बिहीबार राति नै हाजिर जमानीमा रिहा भएकी हुन्।

कथावाचिका राधिका दासीले दिएको किटानी जाहेरीका आधारमा साइबर ब्यूरोले केसीलाई विद्युतीय (साइबर) कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। प्रहरीले थप अनुसन्धान गर्न अदालतसमक्ष १० दिनको हिरासत म्याद माग गरे तापनि अदालतले एक दिनको मात्र म्याद स्वीकृत गरेको थियो।

सोही म्याद सकिएपछि उनलाई बिहीबार राति हाजिर जमानीमा छाडिएको र अनुसन्धान प्रक्रियाका लागि शुक्रबार बिहान काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। प्रहरीले घटनाबारे आवश्यक प्रमाण सङ्कलन र थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *