चलिरहेको मोटरसाइकलमा स्टन्ट शैलीमा यात्रा गर्ने सांसद बब्लु गुप्ता ट्राफिक कारबाहीमा, रु ५०० जरिवाना

डिसी नेपाल
८ साउन २०८३ १३:३२

काठमाडौं । चलिरहेको मोटरसाइकलमा असुरक्षित तरिकाले उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य (सांसद) बब्लु गुप्ता ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले उनलाई रु ५०० जरिवाना गराएको हो। सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुप्ता लहानको तारेगनाबाट काभ्रे महादेव मन्दिरतर्फ जाने क्रममा चलिरहेको बुलेट मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएको थियो।

जनप्रतिनिधिले नै सडक सुरक्षासम्बन्धी नियमको अवहेलना गरेको भन्दै सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भएको थियो। आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा क्षमायाचना गर्दै आफ्नो कमजोरी स्वीकारेका थिए ।

बाल्यकालमा खेलेको ठाउँमा पुग्दा खुसीको क्षणमा नजानिदो तरिकाले नियम उल्लङ्घन हुन पुगेको उल्लेख गर्दै उनले कानुनी कारबाही भोग्न तयार रहेको बताएका थिए । त्यसलगत्तै उनी आफैँ जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर तोकिएको जरिवाना रकम बुझाई रसिद प्राप्त गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *