हिमाललाई आराम दिन पाए हुन्थ्यो, तर हजारौंको रोजगारी रोकिन्छ : पासाङ दावा शेर्पा
काठमाडौं। सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। कामीरिता शेर्पापछि विश्वमै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनले पहिचान बनाएका छन्।
‘पादावा शेर्पा’को नामले समेत चिनिने उनले सगरमाथाका साथै चोयू, ल्होत्से र मनास्लुलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमा ४३ पटक पाइला टेकिसकेका छन्। सन् १९९८ मा पहिलोपटक सगरमाथा आरोहण गर्दा उनले चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर शिखर पुऱ्याएका थिए।
२८ वर्ष लामो आरोहण अनुभव र हिमालका समसामयिक विषयमा राष्ट्रिय समाचार समिति (रासस) का कुम्भराज राईले पासाङ दावा शेर्पासँग गरेको कुराकानीको सम्पादित अंश:
१२ वर्षकै उमेरदेखि भरियाबाट सुरु भएको आरोहण यात्रा कसरी अघि बढ्यो?
मैले १२–१३ वर्षको उमेरदेखि नै ट्रेकिङमा भरियाका रूपमा काम गर्न थालेको हुँ। त्यसपछि ‘किचेन ब्वाई’ र ‘कुक’ हुँदै ‘माउन्टेन गाइड’को भूमिकामा पुगेँ। सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती आरोही बियर ग्रिल्सलाई गाइड गरेर सगरमाथाको शिखर पुगेको थिएँ।
त्यतिबेलाको आरोहण निकै कठिन थियो; अहिलेको जस्तो साउथकोलभन्दा माथि पहिले नै डोरी टाँग्ने (रोप फिक्सिङ) व्यवस्था थिएन। हामी पहिलो प्रयासमा साउथ समिटबाटै फर्किएर आधार शिविरमा एक हप्ता आराम गरेपछि मात्र दोस्रो प्रयासमा शिखर पुग्न सफल भएका थियौँ।
यस वर्ष एकै सिजनमा दुईपटक गरी ३१औं पटक सगरमाथा पुग्नुभयो, कसरी सम्भव भयो?
यसपटक एउटा अमेरिकी र नेपालको ‘ट्रेक नेपाल’ कम्पनीको सहकार्यमा सञ्चालित टोलीमा आबद्ध भई १८ मे का दिन पहिलोपटक आरोहण गरेँ। १९ मे का दिन बिहान आधार शिविर फर्किएर एक दिनको आरामपछि पुनः शिखरतर्फ लागेँ र २२ मे मा दोस्रोपटक शिखर पुगेँ। यसपटकको दोस्रो आरोहण भने मैले कुनै विदेशी ग्राहकविना, पहिलोपटक एक्लै गरेको थिएँ।
२८ वर्षको अवधिमा सगरमाथामा कस्ता परिवर्तन देख्नुभयो?
परिवर्तनहरू धेरै भएका छन्। पहिले हिउँमाथि ढुङ्गा बटुलेर गोठजस्तै किचेन टेन्ट बनाइन्थ्यो, अहिले त किचेन र डाइनिङमा कार्पेट ओछ्याइएका आधुनिक सुविधाहरू हुन्छन्।
खासमा अचेल सगरमाथा आरोहणमा ‘एडभेन्चर’ (साहस) भन्दा पनि ‘लक्जरी’ (विलासिता) र सुविधा दिने प्रतिस्पर्धा बढेको छ। विदेशी आरोहीहरूले सुविधा खोज्ने र सोहीअनुसार रकम तिर्ने भएकाले कम्पनीहरूले पनि त्यस्तै व्यवस्था मिलाउन थालेका हुन्।
हिउँ पग्लिने दर र जलवायु परिवर्तनको असर कत्तिको महसुस गर्नुभएको छ?
खुम्बु आइसफलमा हिउँ धेरै पर्दा धेरै देखिने र कम पर्दा घटेको जस्तो लाग्छ। कतिपय ठाउँमा हिउँ पग्लिएको जस्तो लागे पनि ठूलै परिवर्तन भइसकेको अनुभव मलाई भएको छैन। सन् २००० सम्म मौसमको भरपर्दो पूर्वानुमान नहुँदा आरोहीले ठूलो जोखिम मोल्नुपथ्र्यो।
अहिले प्रविधिको विकासले मौसमको सटीक जानकारी पाइने भएकाले आरोहीहरू अनुकुल मौसम पर्खेर काठमाडौँमै आराम गर्छन् र मौसम सफा भएपछि मात्र उकालो लाग्छन्। प्रविधि र इन्टरनेटका कारण मौसमभन्दा पनि आरोहीहरूको व्यवहारमा बढी परिवर्तन आएको हो।
यस वर्ष सगरमाथामा भीड बढेको र फोहोर बढेको चर्चाबारे तपाईँको धारणा के छ?
खुम्बु आइसफलको बाटो ढिलो खुल्दा केही भीड देखिएको पक्कै हो, तर कुनै ठूलो दुर्घटना नभएकाले यस वर्षको आरोहण सफल र सुरक्षित रह्यो। फोहोरको कुरा गर्ने हो भने पहिलेभन्दा अहिले धेरै सफा भइसकेको छ।
पहिले साउथकोलमा अक्सिजनका सिलिन्डर र पुराना पालहरू छरपस्ट हुन्थे, अहिले अक्सिजनका सिलिन्डरहरू देखिँदैनन्। हिमालमा फोहोर थोपरियो भन्न सजिलो छ, तर बरफले थिचिएका पुराना पालहरू उखेलेर सफा गर्न धेरै गाह्रो हुन्छ। अहिले बाटोमा पुराना शवहरू पनि खासै देखिँदैनन्।
के सगरमाथालाई केही वर्षका लागि आराम दिनु आवश्यक छ?
व्यक्तिगत रूपमा सोच्दा त २-३ वर्ष सगरमाथालाई आराम दिन पाए हुन्थ्यो जस्तो लाग्छ। तर, आरोहण रोक्दा विदेशीहरू मान्दैनन् र यससँग जोडिएको ठूलो रोजगारी प्रभावित हुन्छ। राज्यको आम्दानीदेखि ट्याक्सी चालक, होटल व्यवसायी, भरिया र पथप्रदर्शक सबैको जीविकोपार्जनमा असर पर्ने भएकाले आराम दिन व्यवहारिक रूपमा गाह्रो छ।
शेर्पा समुदाय र नयाँ पुस्ताको भविष्यलाई कसरी हेर्नुहुन्छ?
पहिलाका शेर्पाहरू जस्तै अहिले पनि धेरैजसोले जीविकोपार्जनकै लागि हिमाल चढिरहेका छन्। खुम्बु क्षेत्रका शेर्पाका नयाँ पुस्ताहरू अब यो पेसामा आउने सम्भावना घट्दै गएको छ, तर सङ्खुवासभा, मकालु र सोलुखुम्बुका अन्य ठाउँका शेर्पाहरूका साथै राई, गुरुङलगायत अन्य समुदायका युवाहरू यो क्षेत्रमा आकर्षित भइरहेका छन्।
राज्यले हिमालमा खट्ने शेर्पाहरूका लागि के गरिदियोस् भन्ने लाग्छ?
राज्यले हिमालमा जीवन जोखिममा पारेर काम गर्ने शेर्पा र उनीहरूका परिवारको सामाजिक सुरक्षाका लागि केही स्थायी र ठोस व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment