नागढुंगा सुरुङमार्गमा आजदेखि गाडी गुड्दै: नेपाल सुरुङ युगमा प्रवेश
काठमाडौं। नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले अन्ततः मूर्तरूप पाएको छ। सन् २०१९ नोभेम्बर १४ देखि निर्माण थालिएको बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रूपमा सवारीसाधन चलाउन थालिएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले साउन ११ गते (सोमबार) सुरुङमार्गको उद्घाटन गरी सञ्चालनमा ल्याउने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
“नागढुंगा सुरुङमार्ग सोमबारदेखि नै सञ्चालनमा ल्याउने गरी आवश्यक पूर्वतयारी अघि बढाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहोग नियोग (जाइका) का प्रतिनिधिलगायतका सरोकारवालाहरूको उपस्थितिमा यसलाई सञ्चालनमा ल्याइनेछ,” उनले भने, “सुरुङमार्ग तयार हुने काम त धेरै अघि नै भइसकेको थियो। सुरुङमार्गको पश्चिमतर्फ पहिरोको समस्या देखिएकाले थप व्यवस्थापन गर्दा केही समय लागेको हो। साथै, सुरुङभित्रको आवश्यक सुरक्षालगायतका प्रविधिक व्यवस्थापनमा पनि थप समय लागेको हो।”
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले केही ढिलाइ भए पनि नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा सडक सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको दाबी गरे।
“सुरुङमार्गको उद्घाटन भएसँगै पहिलो चरणमा आपत्कालीन र अत्यावश्यक सवारीसाधनहरू जस्तै: एम्बुलेन्स, सुरक्षा निकायका गाडी र दमकललगायत मात्र सञ्चालन गर्नेछौं,” उनले स्पष्ट पार्दै भने, “अन्य आम सवारीसाधनको हकमा भने सुरुङमार्गको क्षमता, चाप र सुरक्षा अवस्था हेरेर क्रमशः थप निर्णय गरिनेछ। एकैपटक सबै प्रकारका सवारीसाधन गुडाउन जोखिम हुन सक्छ, त्यसैले सुरक्षा प्रबन्ध मिलाउँदै थप सवारीसाधन चलाउँदै अघि बढ्ने नीति लिएका छौं।”
सुरुङमार्ग सञ्चालनमा आउन लागेसँगै सवारीचालक तथा यातायात व्यवसायीहरू पनि निकै उत्साहित बनेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा-नौबिसे खण्डमा हुने इन्धन र समय दुवैको ठूलो बचत हुने बताए।
“नागढुंगा-नौबिसे क्षेत्रमा घण्टौँसम्म सवारीसाधनको सास्ती र जाम हुँदा इन्धन र समयको ठूलो बर्बादी भइरहेको थियो,” उनले भने, “सरकारले सुरुङमार्ग तयार पारेर एउटा उदाहरणीय कार्य गरेको छ। अब देशका अन्य आवश्यक ठाउँहरूमा पनि सुरुङमार्ग बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बेला आइसकेको छ।”
तर, अध्यक्ष सिटौलाले सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनसँग उठाइने दस्तुर/शुल्कका विषयमा भने सरकारले यातायात व्यवसायीहरूसँग पर्याप्त परामर्श नगरेको भन्दै केही असन्तुष्टि व्यक्त गरे।
यसरी बनेको थियो सुरुङमार्ग
सन् २०१३ मा सडक विभागले नागढुङ्गा सुरुङमार्गको विषयमा प्रारम्भिक अध्ययन थालेको थियो। त्यसपछि सन् २०१५ मा जापानी सहायता नियोग (जाइका) को प्राविधिक तथा वित्तीय सहयोगमा नागढुंगा सुरुङमार्गको वातावरणीय र सामाजिक सर्वेक्षणसहित परियोजना तयारी सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन पेस गरिएको थियो। यो सुरुङमार्ग निर्माणको मुख्य ठेक्का जापानी निर्माण कम्पनी ‘हाजमा एन्डो कर्पोरेसन’ ले पाएको थियो।
सन् २०१९ नोभेम्बर १४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको औपचारिक शिलान्यास गर्नुभएको थियो। निर्माण सुरु भएको ५३ महिनापछि अर्थात् २०८१ वैशाख ३ गते नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ अर्थात् सुरुङ छेड्ने काम सम्पन्न भएको थियो।
यद्यपि, निर्माण कम्पनीको ढिलासुस्ती, स्थानीयवासीको पटक-पटकको अवरोध, भौगोलिक जटिलता र पहिरोजस्ता कारणले गर्दा आयोजना तोकिएको सुरुवाती समयभित्रै सञ्चालनमा आउन सकेको थिएन। सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न भइसक्नुपर्ने थियो।
यो सुरुङमार्ग काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म दुई हजार ६८८ मिटर (२.६८ किमी) लम्बाइको रहेको छ। मुख्य सुरुङमार्गसँगै दुई हजार ५५७ मिटर लामो आकस्मिक उद्धारका लागि ‘रेस्क्यु टनेल’ (उद्धार सुरुङ) पनि निर्माण गरिएको छ।
सुरुङमार्गबाहेक यस आयोजनाअन्तर्गत नेपालकै पहिलो ‘फ्लाइओभर’, पुल, ‘बक्स कल्भर्ट’, ‘अन्डरपास’ र ‘ओभरपास’ लगायतका एक दर्जनभन्दा बढी पूर्वाधार संरचनाहरू बनेका छन्। सुरुङमार्गलाई जोड्नका लागि पूर्वतर्फ (काठमाडौंतर्फ) २.३ किलोमिटर र पश्चिमतर्फ (धादिङतर्फ) ०.५६५ किलोमिटर एप्रोच सडक निर्माण गरिएको छ।
यस आयोजनाको प्रारम्भिक अनुमानित लागत २२ अर्ब ८२ करोड रहेको थियो। तर, समय थपिनु र मुआब्जा विवादका कारण सो लागत बढेर करिब २४ अर्ब पुगेको छ।
यसमध्ये दातृसंस्था जाइकाबाट अत्यन्तै सहुलियत दरको ऋण १७ अर्ब १५ करोड र बाँकी रु ५ अर्ब ६७ करोडभन्दा बढी नेपाल सरकारको आफ्नै लगानी रहेको आयोजना निर्देशक नेपालले जानकारी दिए।
इन्धन, दूरी र समयको ठूलो बचत
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा-सिस्नेखोला वरपर बर्सेनि हुने घण्टौंको सास्तीपूर्ण ट्राफिक जामको दीर्घकालीन अन्त्य हुने विश्वास गरिएको छ। यसले सवारीसाधनको इन्धन र यात्रुको समय दुवै जोगाउनेछ।
आयोजना निर्देशक नेपालका अनुसार सुरुङमार्ग प्रयोग गर्दा ठूला सवारीसाधनको कम्तीमा ३५ मिनेट र साना सवारीसाधनको कम्तीमा २० मिनेट समय बचत हुनेछ।
“सुरुङमार्ग सञ्चालनमा आएपछि मुख्य सडकको दूरी मोटामोटी तीन किलोमिटर घट्नेछ,” उनले भने, “अत्यधिक उकालो र घुमाउरो नागबेली बाटो छल्न पाइने भएकाले ठूला मालवाहक गाडीको लागि समय र इन्धन दुवैमा ठूलो राहत मिल्नेछ।”
आयोजनाको तथ्यांकअनुसार काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाका नागढुंगा-नौबिसे हुँदै दैनिक औसतमा दुईपाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्।
तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले यो सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको छ। यद्यपि, सुरक्षाका कारण सुरुङमार्गभित्र दुईपांग्रे (मोटरसाइकल/स्कुटर) र प्रज्ज्वलनशील पदार्थ बोकेका गाडीहरू चलाउन भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
यस्तो छ तोकिएको शुल्क (टोल ट्याक्स)
नेपाल सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुंगा-नौबिसे सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनबाट उठाइने दस्तुर निर्धारण गरिसकेको छ। सरकारले सवारीसाधनको आकार र क्षमताअनुसार छुट्टाछुट्टै दस्तुर तोकेको छ:
-
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र हलुका सवारीसाधन: काठमाडौँ प्रवेश गर्दा रु ६५ र काठमाडौँबाट बाहिरिँदा रु ६०।
-
मिनीबस र मिनी ट्रिपर/ट्रक: काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट बाहिरिँदा रु ८०।
-
बस र ठूला ट्रक (सिंगल रियर एक्सल): काठमाडौँ प्रवेश गर्दा रु २६० र काठमाडौँबाट बाहिरिँदा रु २००।
-
मल्टिएक्सल ट्रक, ठूला भारी उपकरण तथा ट्रेलर: काठमाडौँ प्रवेश गर्दा रु ६०० र काठमाडौँबाट बाहिरिँदा रु २५०।
यसैबीच, पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि देशभर थप एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि रु ६७ करोड १ लाख बजेट विनियोजन गरिसकेको छ।
नेपालमा सुरुङमार्गको ऐतिहासिक पृष्ठभूमि
नेपालमा सुरुङमार्ग निर्माणको इतिहास निकै पुरानो छ। मुस्ताङ जिल्लामा मात्रै करिब दुई हजार वर्षभन्दा पुराना भूमिगत गुफा र संरचनाहरू भेटिएका छन्, जुन बसोबास र चिहान प्रयोजनका लागि निर्माण गरिएका थिए। त्यस्तै, करिब ४०० वर्षअघि पाल्पाको अर्गेलीमा सिँचाइ प्रयोजनका लागि खनिएको पुरानो सुरुङ अझै पनि प्रयोगमा रहेको पाइन्छ।
तर व्यवस्थित र सवारीसाधन चलाउने आधुनिक सुरुङको इतिहास भने राणाकालबाट सुरु हुन्छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वि.सं. १९७५ (सन् १९१७) मा मकवानपुरको चुरियामाईमा करिब ५०० देखि ६०० मिटर लामो सुरुङमार्ग निर्माण गरी साना गाडीहरू गुडाउने गरिएको थियो।
स्विट्जरल्यान्डका प्रसिद्ध भूगर्भविद् टोली हेगनले आफ्नो पुस्तक ‘द हिमालयन किङ्डम अफ नेपाल’ मा चुरियामाईको सो सुरुङलाई एसियाकै पहिलो मानव निर्मित सडक सुरुङमार्ग हुन सक्ने उल्लेख गरेका छन्। चुरियामाई सुरुङ पूर्ण रूपमा नेपाली इन्जिनियरिङ, लगानी र जनशक्तिबाटै निर्माण गरिएको ऐतिहासिक दस्तावेज छ।
हालसम्म ५३७ किलोमिटर सुरुङ तयार
भौगोलिक रूपमा जटिल, भिरपाखा र पहिरोग्रस्त क्षेत्र रहेको नेपालमा सडक, जलविद्युत्, खानेपानी र सिँचाइजस्ता पूर्वाधारका लागि भूमिगत सुरुङ प्रविधि अनिवार्य बन्दै गएको छ।
नेपाल टनेलिङ एसोसिएसनका पूर्वअध्यक्ष डा. ज्ञानेन्द्रलाल श्रेष्ठका अनुसार सन् २०२६ को जनवरीसम्ममा नेपालमा विभिन्न प्रयोजनका गरी कुल ५३७ किलोमिटर सुरुङ निर्माण भइसकेको छ। उनका अनुसार:
-
जलविद्युत् क्षेत्र: हालसम्म ४५४ किलोमिटर सुरुङ सञ्चालनमा छ भने थप २५० किलोमिटर निर्माणाधीन छ।
-
खानेपानी क्षेत्र: मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटरसहित विभिन्न आयोजनामा गरी ३० किलोमिटर सुरुङ तयार भइसकेको छ।
-
सिँचाइ क्षेत्र: भेरी बबई बहुउद्देश्यीय र सुनकोशी मरिण डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूमा आधुनिक टनेल बोरिङ मेसिन (TBM) प्रयोग गरी जलसुरङ्गहरू खनिएका छन्।
-
सडक, ढल, खानी र सङ्ग्रहालय: सडकतर्फ हालसम्म २३ किमी (नागढुंगासहित), ढल निकासतर्फ ०.५२ किमी, खानीतर्फ ०.०२ किमी र सङ्ग्रहालयतर्फ ३०० मिटर सुरुङ तयार भएको छ।
सरकारी र निजी क्षेत्र दुवै मिलेर आगामी वर्षहरूमा थप ६४० किलोमिटर सुरुङ खन्ने लक्ष्य र योजना बनाएका छन्।
सुरुङ निर्माणमा आत्मनिर्भर बन्दै नेपाल
नेपाल टनेलिङ एसोसिएसनका पूर्वअध्यक्ष डा. श्रेष्ठका अनुसार नेपालमा भौतिक पूर्वाधारसँगै सुरुङ निर्माण गर्ने प्राविधिक क्षमता, दक्ष जनशक्ति र इन्जिनियरिङ ज्ञानमा पनि ठूलो अभिवृद्धि भइरहेको छ।
“नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउनुले नेपाललाई आधुनिक सुरुङ प्रविधिको युगमा पुर्याएको छ,” उनले भने, “हाल सिद्धबाबा सुरुङमार्ग तथा काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतका सुरुङहरू पनि तीव्र गतिमा निर्माण भइरहेका छन्।”
नेपाल अब सुरुङमार्गको डिजाइन, निर्माण व्यवस्थापन र परामर्शदाता सेवामा बिस्तारै आत्मनिर्भरतातर्फ अघि बढिरहेको र स्वदेशी निर्माण कम्पनीहरूको दक्षता पनि अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको उनको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment