बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा दुई विशिष्ट व्यक्तित्व र संस्था पुरस्कृत
काठमाडौं। ललितपुरस्थित कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले बद्रीविक्रम थापाको १०४औं जन्मजयन्तीको अवसरमा दुई प्रतिष्ठित पुरस्कार तथा सम्मान वितरण गरेको छ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सोमबार आयोजित विशेष समारोहमा समाजका विशिष्ट व्यक्ति तथा संस्थालाई ती पुरस्कार समर्पण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई ‘सेवा पुरस्कार नेपाल २०८३’ र चितवन देवघाटस्थित गार्गी कन्या गुरुकुललाई ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार २०८३’ प्रदान गरे। दुवै पुरस्कारका साथमा जनही रु. २,२२,२२२ (दुई लाख बाइस हजार दुई सय बाइस) नगद राशि हस्तान्तरण गरिएको थियो।
सोही अवसरमा समाजमा योगदान पुर्याएका मानमाया लामा र श्यामलाल महर्जनलाई जनही २५ हजार रुपैयाँ नगदसहित ‘श्रम सम्मान’ प्रदान गरियो। साथै, गुठीका तर्फबाट ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष’का लागि २५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत हस्तान्तरण गरियो।
समारोहमा गुठीको मुखपत्र ‘सेवा नेपाल २०८३’ (भैरव रिसाल विशेष अंक), ‘स्मृतिमा भैरव रिसाल’ (ग्रन्थ) र प्रा.डा. खेम कोइराला बन्धुद्वारा लिखित ‘उज्याला बद्रीविक्रम’ नामक पुस्तक लोकार्पण गरियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिले बद्रीविक्रम थापाको निष्काम कर्म र गीता-वेदप्रतिको निष्ठा हरेक युवाका लागि प्रेरणादायी हुने बताए। हाम्रो भूमि शिवशक्तिको वरदान प्राप्त कर्मक्षेत्र भएकाले सबैले धर्म, संस्कृति र सेवाको भाव बोकेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
पुरस्कृत व्यक्तित्व डा. भगवान कोइरालाले विशुद्ध समाजसेवामा समर्पित संस्थाबाट प्राप्त पुरस्कारले आफूलाई थप ऊर्जा मिलेको बताउँदै मुटुरोग अस्पतालको सेवा विस्तारमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
गार्गी कन्या गुरुकुलकी उपाध्यक्ष मन काफ्लेले शिक्षासेवी अंगुरबाबा जोशी र भगवती उपाध्यायको योगदानका कारण गुरुकुल आजको उचाइमा पुगेको स्मरण गरे।
गुठीका कोषाध्यक्ष किरण थापाले गुठीका विविध गतिविधि र प्रकाशनबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा प्रा.डा. सुरेशराज शर्मा, डा. चिन्तामणि योगी, र श्रीओम श्रेष्ठ ‘रोदन’ले बद्रीविक्रम थापाको सामाजिक योगदानको चर्चा गरेका थिए। कार्यक्रममा गुरुकुलका छात्राहरूले स्वस्ती वाचन, छात्रा नवीना भट्टराईले संस्कृतमा मन्तव्य र सुवर्णलता थापाले राष्ट्रभक्ति गीत प्रस्तुत गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment