चिकित्सक कुट्नेमाथि कडा कारबाहीको प्रतिबद्धता, सेवा रोके कारबाही हुने मन्त्रालयको चेतावनी

डिसी नेपाल
१२ साउन २०८३ ९:५४

काठमाडौं। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका अस्पतालहरूलाई कुनै पनि बहानामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको आश्वासन दिँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न अपिल गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटना निन्दनीय रहेको उल्लेख छ। घटनामा संलग्नहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइसकेको मन्त्रालयले जनाएको छ।

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै राष्ट्रिय ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

मन्त्री मेहताले दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै सेवा प्रवाह सहज बनाउन पहल गरिरहेकाे जनाइएकाे छ।

स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील भएकाले नागरिकको उपचार पाउने अधिकारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको ठहर छ।

स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न पाउनुपर्ने उनीहरूको अधिकारको सम्मान गर्दै नागरिकको उपचार सेवा नियमित रूपमा प्रवाह गर्न मन्त्रालयले सबै अस्पताल र सरोकारवालासँग आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *