संसद्‌मा श्रम संस्कृति पार्टीको प्रश्न: ‘देशमा हिंसा फैलिँदा सरकार कहाँ छ?’

डिसी नेपाल
१४ साउन २०८३ १२:०३

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले देशको शान्ति-सुरक्षाको खस्कँदो अवस्था र राष्ट्रियताका संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद राईले मुलुकमा दिनदिनै हत्या, हिंसा र गोली चल्नेजस्ता गम्भीर घटनाहरू दोहोरिँदासमेत सरकार कानमा तेल हालेर बसेको र मौनता साधेको आरोप लगाए।

“देशमा आज जताततै अशान्ति र हिंसा फैलाउने वातावरण बनेको छ, तर सरकार भने पूरै बेखबर छ। म सोध्न चाहन्छु- सरकार कहाँ छ? अब सरकार सिंहदरबारबाट बाहिर निस्कनुपर्छ,” संसद्‌मा आक्रोश व्यक्त गर्दै सांसद राईले भने, “दिनदहाडै देशका विभिन्न भागमा गोली चलेको छ, हत्या-हिंसाका घटना भएका छन् र मुलुक सङ्कटतर्फ धकेलिँदै छ, तर सरकार भने केही नभएजस्तै गरी बसिरहेको छ।”

सांसद राईले सरकारले आफ्ना कक्षहरूबाट बाहिर निस्किएर जनताको वास्तविक अवस्था र मुलुकको वस्तुस्थिति नियाल्नुपर्नेमा जोड दिए। राष्ट्रियतासँग जोडिएका विषयमा अनावश्यक अडान र जिद्दी लिनु कसैको हितमा नहुने उल्लेख गर्दै उनले यस्ता कदमको सही मूल्याङ्कन नागरिकले भविष्यमा आफैँ गर्ने बताए।

सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सम्मानित रोस्ट्रममा उभिएर दिएको एक विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरे। प्रधानमन्त्रीले आफ्नो उक्त भनाइ तत्काल सच्याउनुपर्ने माग गर्दै सांसद राईले सो अभिव्यक्ति संसद्को आधिकारिक अभिलेख (रेकर्ड) बाट हटाउन (एक्सपन्ज गर्न) सभामुखसँग मागसमेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *