कप्तानगञ्ज घटनामा राप्रपाको कडा आपत्ति: ‘कसको आदेशमा सर्वसाधारणमाथि गोली चलाइयो?’
काठमाडौं। सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र प्रहरीको गोली लागेर सर्वसाधारणको ज्यान गएको घटनालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको कडा आलोचना गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा सांसद खुश्वु ओलीले उक्त घटनाको सम्पूर्ण सत्यतथ्य तत्काल सार्वजनिक गर्न र सरकारले संसद्समक्ष निष्पक्ष स्पष्टीकरण दिनुपर्ने माग गरिन्।
नागरिकको ज्यान जाने गरी भएको सो गम्भीर घटनामा कसको संलग्नता थियो र कसको आदेशमा सर्वसाधारणमाथि हतियार प्रहार गरियो भन्ने विषय पारदर्शी हुनुपर्ने उनको भनाइ थियो।
सरकारको कदममाथि गम्भीर प्रश्न उठाउँदै सांसद ओलीले संसद्मा भनिन्, “सुनसरीको कप्तानगञ्जमा गोली कसले चलाएको हो? कसको आदेशमा सर्वसाधारणमाथि हतियार प्रहार भयो? यो कुरा पीडित परिवार र आम जनताले स्पष्ट रूपमा जान्न पाउनुपर्छ। के सरकारले आफ्नै नागरिकमाथि गोली बर्साएर देशमा शान्ति-सुरक्षा कायम गर्न खोजेको हो?”
कप्तानगञ्ज झडपका क्रममा स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको घटनाप्रति उनले घोर भर्त्सना गरिन्। बल प्रयोग गरेर समस्या दबाउन खोज्नुको साटो घटनाको निष्पक्ष एवम् न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment