उदयपुरको कटारीमा खोलामा डुबेर तीन बालकको मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका–३, हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार शनिबार साँझ करिब ५:३० बजे ७ र ११ वर्षका दाजुभाइ तथा उनीहरूकै ८ वर्षीय नातेदार बालक बेपत्ता भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल कटारीबाट खटिएको संयुक्त टोलीले तत्काल खोजी कार्य सुरु गरेको थियो।
खोजतलासका क्रममा हडैया खहरे खोलामा उनीहरू अचेत अवस्थामा फेला परेका थिए। तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याइए पनि चिकित्सकले साँझ करिब ७ बजे तीनै जनालाई मृत घोषणा गरेका हुन्।
बालकहरूको शव परीक्षण तथा अन्य प्रक्रियाका लागि हाल प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment