हतियार बिसाउन र गाजाको शासन छाड्न हमास तयार

डिसी नेपाल
१५ साउन २०८३ १०:२६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेको ‘बोर्ड अफ पिस’ ले गाजामा सक्रिय हमाससहितका अन्य सशस्त्र समूहहरूसँग हतियार बिसाउनेसम्बन्धी (निःशस्त्रीकरण) एउटा महत्त्वपूर्ण सहमति गरेको घोषणा गरेको छ।

हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुराकानी गर्दै आफ्नो सङ्गठन गाजामा पूर्ण रूपमा हतियार त्याग्न ‘बोर्ड अफ पिस’ को प्रस्तावमा सहमत भएको पुष्टि गरेका छन्। उनका अनुसार यस ऐतिहासिक सहमतिको आधिकारिक घोषणा चाँडै नै सार्वजनिक गरिनेछ।

यद्यपि, यस नयाँ घटनाक्रम र सहमतिप्रति इजरायल सरकारका तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा हमासको निःशस्त्रीकरणको काम अघि बढेसँगै इजरायली सेना पनि क्रमशः गाजा क्षेत्रबाट पछि हट्दै जाने बताएका छन्।

उनले यस बहुपक्षीय सम्झौतालाई “अन्ततः गाजामा नयाँ प्यालेस्टिनी सरकारको शासन स्थापना गर्ने दिशामा एउटा अत्यन्तै महत्त्वपूर्ण कदम” को रूपमा व्याख्या गरेका छन्।

अमेरिकाको मध्यस्थतामा तय गरिएको गाजा युद्धविराम योजनाको दोस्रो चरणअन्तर्गत हमासलाई हतियार त्याग्न मन्जुर गराउने रणनीति राखिएको थियो।

हतियार बिसाउने सहमतिसँगै अब सोही योजनाको दोस्रो चरणअनुसार लामो युद्धबाट ध्वस्त बनेको गाजा क्षेत्रको पुनर्निर्माण र राहत व्यवस्थापनको बृहत् कार्ययोजनासमेत अघि बढाइने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *