धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गर्न डा. शशांक कोइरालाको अपिल

डिसी नेपाल
१५ साउन २०८३ १०:५५

काठमाडौं। नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सुनसरीलगायत तराई-मधेशका विभिन्न जिल्लामा सिर्जित तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता, आपसी सद्भाव र संयमता कायम राख्न सम्पूर्ण नेपाली नागरिकहरूमा अपिल गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. कोइरालाले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा सङ्गम भएको उल्लेख गरे। पुर्खाले सुम्पेको सद्भाव र सहअस्तित्वको परम्परा नै नेपालको राष्ट्रिय पहिचान र गौरवको आधार भएको बताउँदै उनले यस नाजुक घडीमा सामाजिक एकता र सहिष्णुता जोगाउनु सबैको साझा दायित्व भएको जोड दिए।

“हामी नेपालीबीच कुनै पनि प्रकारको वैमनस्य, विभाजन वा द्वन्द्व होइन; प्रेम, सम्मान र भाइचाराको सम्बन्ध विस्तार आवश्यक छ। यसो गर्न सके मात्र समृद्ध, शान्त र एकताबद्ध नेपाल निर्माण सम्भव हुन्छ,” विज्ञप्तिमा भनिएको छ।

संवेदनशील परिस्थितिमा शान्ति-सुरक्षा र अमनचयन कायम गर्न नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई निष्पक्ष र प्रभावकारी रूपमा खटिन उनले आग्रह गरे। साथै स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र बुद्धिजीवीहरूलाई सद्भावको वातावरण बनाउन अग्रणी भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

पूर्वमहामन्त्री कोइरालाले नेपाली काङ्ग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताका पक्षमा उभिँदै समाजमा शान्ति र संयमको सन्देश प्रवाह गर्ने अभियानमा सक्रिय हुन निर्देशनसमेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *