ब्रोड पिक हिमालमा हिमपहिरोमा परेका ४ जनाको शव फेला

डिसी नेपाल
१५ साउन २०८३ ११:१२

काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार गएको भयानक हिमपहिरोपछि खटिएको भू-उद्धार टोलीले ४ जनाको शव फेला पारेको छ। एल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्सद खानका अनुसार फेला परेका शवहरूको पहिचान खुल्न अझै बाँकी रहेको छ।

काराकोरम हिमशृङ्खलामा रहेको सो हिमालमा बिहीबार मध्याह्नतिर हिमपहिरो जाँदा कीर्तिमानी आरोही निर्मल पुर्जासहितको टोली परेको खबर प्राप्त भएको थियो।

एल्पाइन क्लब अफ पाकिस्तानले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामार्फत जारी गरेको विज्ञप्ति अनुसार हिमपहिरोमा परी बेपत्ता हुनेहरूमा नेपाली चर्चित आरोही तथा पूर्व रोयल मरीन निर्मल पुर्जा (‘निम्सदाई’) सहित अन्य ५ नेपाली आरोहीहरू रहेका छन्।

एल्पाइन क्लबका अध्यक्ष मेजर जनरल खान तथा संस्थाको वरिष्ठ नेतृत्वले उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन सरकारी निकाय तथा सम्बन्धित उद्धार एजेन्सीहरूसँग निरन्तर समन्वय गरिरहेका छन्।

विज्ञप्तिमा भनिएको छ, “मौसम र हिमाली अवस्था अनुकूल हुनासाथ हेलिकप्टर सहयोगका साथै उपलब्ध सबै उद्धार स्रोत र साधनहरू परिचालन गर्न हरसम्भव प्रयास भइरहेको छ।”

एल्पाइन क्लबले परिस्थितिको सूक्ष्म अनुगमन गरिरहेको र उद्धार कार्यमा संलग्न सबै सरोकारवालाहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *