सामाजिक सद्भाव र शान्ति सुरक्षाका लागि कांग्रेसको पहल, सभापति गगन थापाद्वारा भर्चुअल संवाद
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्जबाट सुरु भई पर्सा, धनुषा, सिरहा लगायत कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको अशान्त वातावरण र साम्प्रदायिक तनावका सन्दर्भमा पार्टी तथा सरकारका जनप्रतिनिधिहरूसँग गहन छलफल गरेका छन्।
सानेपास्थित नेपाली कांग्रेसस केन्द्रीय कार्यालयमा भौतिक रूपमा उपस्थित पदाधिकारी एवं केन्द्रीय सदस्यहरू तथा जुम प्रविधिमार्फत कोशी र मधेश प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका प्रमुख-उपप्रमुख, जिल्ला र पालिकास्तरीय पार्टी नेतृत्वसँग संयुक्त संवाद आयोजना गरिएको हो।
छलफलका क्रममा सभापति थापाले देवानगञ्ज घटनामा जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवसहित निर्दोष नागरिकहरूको ज्यान गएको तथा दर्जौँ घाइते भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति संवेदना प्रकट गरे।
बैठकलाई सम्बोधन गर्दै थापाले वर्तमान संवेदनशील परिस्थितिमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रदेश तथा स्थानीय सरकारको भूमिका अहम् रहने बताए।
गृह प्रशासनको असंवेदनशीलताप्रति असन्तुष्टि जनाउँदै उनले घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि सरकारसँग झारो टार्ने समिति नभई अधिकारसम्पन्न र विश्वसनीय न्यायिक छानबिन आयोग गठनको माग दोहोर्याए।
सभापति थापाले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न मैदानमै खटिन कडा निर्देशनसमेत दिए।
हिंसा, सामाजिक सञ्जालमा उत्तेजना वा भ्रम फैलाउने कार्यमा कांग्रेसका कुनै पनि सदस्य संलग्न भएमा उनीहरूलाई पार्टीबाट तुरुन्त कारबाही गरिने र त्यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उनले प्रस्ट पारे।
छलफलमा सहभागी कोशी र मधेश प्रदेशका मन्त्रीहरू, स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला/पालिकाका नेतृत्वले आ-आफ्नो क्षेत्रको वर्तमान अवस्था र शान्ति-सुरक्षा पुनर्बहालीका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment