सामाजिक सद्भाव जोगाउन धार्मिक अगुवाहरूको संयुक्त अपिल, दोषीलाई कारबाही गर्न आग्रह
काठमाडौं। सुनसरीको देवानगन्ज क्षेत्रमा केही दिनअघि भएको घटना र त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिलाई लिएर हिन्दू तथा मुस्लिम समुदायका धार्मिक अगुवाहरूले गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त अपिल जारी गरेका छन्।
विश्व हिन्दू महासंघ र मुस्लिम संघ-संस्थाका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी सुनसरी र सिरहा लगायत मधेस प्रदेशका जिल्लाहरूमा भएका घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको स्मरण गराउँदै धार्मिक अगुवाहरूले कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सम्मानमा आँच पुग्न नहुने स्पष्ट पारेका छन्।
उनीहरूले सुनसरी, सिरहा र मधेसका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरी कानुनविपरीतका कार्यमा संलग्न जो-कसैलाई कडा कारबाही गर्न र पीडित परिवारलाई आवश्यक राहत तथा उचित क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गरेका छन्। साथै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि राज्यको ध्यानाकर्षण गराइएको छ।
विभिन्न स्वार्थ समूहले धर्मका नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेको तर्फ सचेत गराउँदै विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई संयमित रहन र कुनै पनि उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नलग्न आह्वान गरिएको छ।
सबै धर्मको मूल भाव मानव कल्याण, सहिष्णुता र भाइचारा सुदृढ गर्नु रहेको उल्लेख गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमहरूलाई संवाद तथा सहकार्यमार्फत शान्ति र सद्भाव पुनःस्थापित गर्न सक्रिय भूमिका खेल्न अपिल गरिएको छ।
उक्त संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघका सचिवालय सदस्य राजुराज फुँयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसन फलाहीले हस्ताक्षर गरेका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment