बिपी राजमार्ग: अत्यधिक सवारीचाप, जीर्ण सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा
रामेछाप। काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्ला जोड्ने प्रमुख तथा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ।
अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माणमा ढिलाइ र रोशी लगायतका सहायक खोलाहरूमा आउने आकस्मिक बाढीका कारण यात्रुहरूले दैनिक सास्ती भोग्नुपरेको छ।
काठमाडौंबाट काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा तथा पूर्वी तराईका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापादेखि पहाडी जिल्लाहरू धनकुटा, इलाम र ताप्लेजुङसम्म जाने प्रमुख मार्ग यही हो। तर, यस राजमार्गको समयमै मर्मतसम्भार र पुनर्निर्माण हुन नसक्दा यात्रु तथा सवारीचालकहरू उच्च जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
तीन वर्षअघि रोशी खोलामा आएको भीषण बाढीले राजमार्गका विभिन्न खण्ड बगाएपछि खोलाकै किनारैकिनार अस्थायी ट्रयाक बनाएर सवारी साधन सञ्चालन गरिँदै आएको छ। तर, माथिबाट निरन्तर खस्ने लेदो, पहिरो र हिलोका कारण यो सडक झन्-झन् जोखिमपूर्ण बन्दै गएको छ।
सवारीचालकहरूका अनुसार रोशी र त्यसका सहायक खोलाहरूमा वर्षा हुनासाथ आउने बाढीले जुनसुकै बेला सडक बगाउने खतरा रहन्छ। जलाधार क्षेत्रमा पानी पर्न थालेपछि सुरक्षालाई ध्यानमा राखेर प्रहरीले सवारी आवागमन रोक्ने गरेको छ। जसका कारण कतिपय दिनमा तीन-चार पटकसम्म यातायात ठप्प भई यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने गरेका छन्।
रोशीका सहायक खोलाहरूमा आउने बाढीले विशेष गरी दुईपाङ्ग्रे सवारीसाधन बगाउने घटना पटक-पटक दोहोरिने गरेको स्थानीय बताउँछन्।
यस वर्षको वर्षायाम सुरु हुनुअघि नै नयाँ ट्र्याक तयार गरी सवारी सञ्चालन गर्ने योजना बनाइएको भए पनि केही ठाउँबाहेक अधिकांश क्षेत्रमा अझै पनि उही अस्थायी सडकमार्फत नै जोखिमपूर्ण रूपमा यातायात सञ्चालन भइरहेको छ। समयमै स्थायी पुनर्निर्माण हुन नसक्दा बिपी राजमार्ग प्रयोग गर्ने हजारौँ यात्रुको दैनिक यात्रा सास्ती र जोखिमपूर्ण बनेको छ।






No ads found for this position

डिसी नेपाल
Facebook Comment