राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै, आजै बोलकबोल हुने
काठमाडौं। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि आज अपराह्न ३:०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत बोलकबोल आह्वान गरिएको छ।
निक्षेप संकलनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
यसरी संकलन गरिने निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ। इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणांकमा कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
केन्द्रीय बैंकका अनुसार यस बोलकबोलमा राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
साथै, एउटै संस्थाले फरक-फरक ब्याजदर उल्लेख गरी एकभन्दा बढी आवेदनसमेत पेस गर्न सक्ने व्यवस्था मिलाइएको छ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक सन्तुलनलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले समय-समयमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment