सिरियाका विषयमा इजरायल र टर्कीबीच विवाद

डिसी नेपाल
२२ साउन २०८३ ११:१२

काठमाडौं । इजरायलका विदेशमन्त्री गिदोन सारले टर्कीका विदेशमन्त्री हाकान फिदानले इजरायलमाथि ‘सिरियालाई अस्थिर बनाएको’ आरोप लगाएको भन्दै त्यसको कडा जबाफ दिएका छन्। उनले इजरायलले केवल आफ्ना नागरिकहरूलाई आक्रमणबाट जोगाउनका लागि आवश्यक कदम मात्र उठाएको स्पष्ट पारेका छन्।

विदेशमन्त्री गिदोन सारद्वारा जारी वक्तव्यमा टर्कीका तिनै नेताहरूले दशकौँदेखि सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन गर्दै आएको र अरूलाई भने अन्तर्राष्ट्रिय कानुनको उपदेश दिने गरेको उल्लेख गरिएको छ।

इजरायली विदेशमन्त्रीले टर्कीले सिरियाको करिब पाँच प्रतिशत भूभागमा कब्जा जमाएको र इजरायलको सुरक्षालाई कमजोर बनाउने उद्देश्यले सिरियामा सैन्य अखडा स्थापना गर्न चाहेको दाबी गरेका छन्।

वक्तव्यका अनुसार त्यसको तुलनामा इजरायलले केवल एउटा ‘बफर जोन’ (मध्यवर्ती क्षेत्र) मा मात्र नियन्त्रण राखेको छ, जुन सिरियाको कुल क्षेत्रफलको करिब ०.१ प्रतिशत मात्र हो।

उनका अनुसार, “यो कदम दक्षिणी सिरियाबाट सक्रिय रहेका ती आतङ्ककारी समूहहरूबाट सुरक्षाका लागि चालिएको हो, जसले इजरायलमाथि आक्रमण गर्न चाहन्छन्।”

साथै, वक्तव्यमा डिसेम्बर २०२४ मा सिरियाली लडाकुहरूले सन् १९७४ को इजरायल र सिरियाबिच भएको सैन्य बल पृथकीकरण सम्झौताको उल्लङ्घन गर्दै बफर जोनमा प्रवेश गरेको दाबीसमेत गरिएको छ।

बयानमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको नेतृत्वमा टर्कीले सिरिया र इराकमा कुर्दिस फौजविरुद्ध ठूला सैन्य अभियान चलाएको, छिमेकी देशहरूलाई बारम्बार धम्की दिएको, विगत ५० वर्षभन्दा बढी समयदेखि साइप्रसको करिब ३६ प्रतिशत भूभागमा कब्जा जमाइराखेको र मानवअधिकारको खस्कँदो रेकर्डलाई लिएर अन्तर्राष्ट्रिय आलोचना खेपिरहेको आरोपसमेत लगाइएको छ।

अन्तमा इजरायली विदेशमन्त्रीले भनेका छन्, “विदेशमन्त्री हाकान फिदान चाहन्छन् कि इजरायलले आफ्नो सुरक्षाका लागि कदम चाल्न बन्द गरोस्, तर त्यसो हुनेछैन। इजरायलले आफ्ना नागरिकको सुरक्षाका लागि हरसम्भव र आवश्यक कदम चालिरहनेछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *