कोइराला निवास पुनर्निर्माणका लागि विनियोजित २ करोड बजेट डा. शेखरद्वारा अस्वीकार

डिसी नेपाल
२२ साउन २०८३ ११:३५

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा पुनर्निर्माणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ लिन अस्वीकार गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विनियोजन गरेको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसक्ने जनाउँदै डा. कोइरालाले बजेट फिर्तासम्बन्धी पत्र मन्त्रालयमा पठाएका हुन्। डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै बजेट फिर्ता लिन औपचारिक आग्रह गरिएको छ।

२०८२ भाद्र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा आगजनी भई भौतिक संरचनामा क्षति पुगेको थियो। सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ऐतिहासिक घर र राजनीतिक चेतनाको धरोहर मान्दै यसको संरक्षण तथा मर्मतका लागि २ करोड रुपैयाँ छुट्याएको थियो।

बजेट फिर्ताको पत्रमा डा. कोइरालाले देशका आम नागरिक अभाव, गरिबी र अनेकौँ कठिनाइमा बाँचिरहेको अवस्थामा राज्यको सीमित स्रोत र साधन त्यस्ता नागरिकको उत्थानमा उपयोग हुनुपर्ने उल्लेख गरेका छन्।

“नागरिक कष्टमा रहेका बेला निजी निवास मर्मतका लागि राज्यको कोष प्रयोग गर्नु नैतिक हिसाबले उपयुक्त नहुने” भन्दै उनले उक्त रकम जनताको प्राथमिकता र आवश्यकताका क्षेत्रमा खर्च गर्न सरकारलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *