गाईजात्राको अवसरमा जोगिन्दरको व्यङ्ग्यात्मक कोसेली ‘बालेन सरकार’ सार्वजनिक

डिसी नेपाल
२४ साउन २०८३ १०:२३

काठमाडौं। लोकप्रिय हास्य कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’ले यस वर्ष (२०८३) को गाईजात्रालाई लक्षित गर्दै नयाँ हास्यव्यङ्ग्य प्रस्तुति ‘बालेन सरकार’ बजारमा ल्याएका छन्। देशको समसामयिक राजनीति, सरकारका गतिविधि र नेपाली समाजका विभिन्न बानीव्यवहारमाथि तीखो प्रहार गरिएको यो कोसेली ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

विगत २३ वर्षदेखि निरन्तर गाईजात्रे व्यङ्ग्य पस्कँदै आएका रिजालले यसपटक पनि ‘बालेन सरकार’मार्फत राजनीतिक दल र नेताहरूलाई सुझाव र चेतावनी दिएका छन्। यस प्रस्तुतिमा गत फागुन २१ को निर्वाचनदेखि लिएर देशका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, एमाले, माओवादी लगायत सबै पार्टीका गतिविधिमाथि व्यङ्ग्य गरिएको छ।

यस कोसेलीको मुख्य आकर्षणका रूपमा झलकमान गन्धर्वको चर्चित गीत ‘आमाले सोध्लिन् नि’ को प्यारोडी समावेश छ। लोकराज अधिकारीको शब्द तथा अष्ट लामाको सङ्गीत संयोजन रहेको उक्त प्यारोडीमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारले स्वर दिएका छन्।

आफ्नो २३ औँ कोसेली सार्वजनिक गर्दै कलाकार जोगिन्दरले गाईजात्रा हास्य कलाकारका लागि महान् उत्सव भएको बताएका छन्। अहिले यस्ता गाईजात्रे सामग्रीमा व्यावसायिक लाभ नभए पनि बर्सेनि पर्खाइमा बस्ने दर्शक-श्रोताको मायाका कारण यसलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।

वि.सं. २०६१ सालदेखि निरन्तर गाईजात्रे कार्यक्रम प्रस्तुत गर्दै आएका रिजालको गत वर्षको प्रस्तुति ‘मिस चौरासी’ले पनि निकै चर्चा कमाएको थियो। शिव शङ्कर रिजाल स्वयम्को लेखन, निर्देशन र प्रस्तुति रहेको ‘बालेन सरकार’मा समन अधिकारीको कोरियोग्राफी, हरि ढकालको छायाङ्कन तथा प्रेम शर्माको सम्पादन छ। यसको पोस्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *