रासायनिक मलको सास्ती: बिचौलिया नियन्त्रण गरी समन्यायिक वितरण गर्न प्रचण्डको माग

डिसी नेपाल
२५ साउन २०८३ ११:१०

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासम्म पनि देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

विशेष गरी मधेश लगायत देशैभरका किसानहरू मल अभावका कारण ठूलो समस्यामा परेको भन्दै उनले सरकारले समयमै पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताएका छन्।

अध्यक्ष प्रचण्डले बजारमा उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण सर्वसाधारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको व्यापक गुनासो आइरहेको उल्लेख गरेका छन्।

नेपालको सन्दर्भमा मल आयातको प्रक्रिया जटिल र लामो हुने भएकाले यसका लागि पूर्वतयारी आवश्यक पर्ने कुरामा जोड दिँदै उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले सोही गम्भीरतालाई बुझेर समयमै मल आपूर्ति र वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको स्मरण गराएका छन्।

वक्तव्यमार्फत उनले रासायनिक मल आयातको बाँकी प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति तुरुन्त सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै, आगामी वर्षका लागि अहिल्यैदेखि पूर्वतयारी थाल्न र कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानहरूलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *