तातोपानी नाका दुई महिनादेखि ठप्प: चीनतर्फको अर्बौंको व्यापार र राजस्व संकटमा

डिसी नेपाल
२८ साउन २०८३ १०:४६

काठमाडौं। लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल-चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा परेको छ। विशेष गरी चीनसँगको मुख्य व्यापारिक मार्ग तातोपानी नाका करिब दुई महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अर्बौँ रुपैयाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन्।

यसले व्यवसायीको लगानी जोखिममा पारेको मात्रै नभई सरकारको राजस्व सङ्कलनमा समेत प्रत्यक्ष असर पुर्‍याएको छ। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले नेपाल न्युज बैंकसँगको कुराकानीमा नेपाल–चीन व्यापारको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताए।

पराजुलीका अनुसार नेपाल र चीनबीच स्थल, जल र हवाई गरी तीन माध्यमबाट व्यापार हुने भए पनि अधिकांश आयात–निर्यात स्थलमार्गमै निर्भर छ। “बर्खायाम सुरु भएयता उत्तरी नाकाबाट हुने व्यापार निकै प्रभावित भएको छ।

बाढी र पहिरोका कारण चीनबाट आउने सामान सहज रूपमा नेपाल भित्रिन सकेका छैनन्। यसले व्यवसायीको लगानी रोकिएको छ भने राज्यले उठाउने राजस्वसमेत प्रभावित भएको छ,” पराजुलीले भने।

अरनिको राजमार्ग हुँदै सञ्चालन हुने तातोपानी नाका गत असारदेखि नै प्रभावकारी रूपमा बन्द छ। डाक्लाङ र इको क्षेत्रमा गएको ठूलो पहिरोका कारण आयात र निर्यात दुवै ठप्प बनेका छन्।

नाका बन्द भएपछि अर्बौँ रुपैयाँ मूल्यका सामान चीनतर्फ, सीमाक्षेत्रमा तथा भन्सार यार्डमा रोकिएका छन्। “कतिपय सामान चीनकै भूभागमा छन्, कतिपय नेपालतर्फका गोदाममा थन्किएका छन्। तातोपानीबाट एक थोपा सामान पनि नेपाल भित्रिएको छैन,” पराजुलीले बताए।

तातोपानी नाका बन्द भएपछि आयात व्यापारको ठूलो हिस्सा रसुवागढी नाकातर्फ मोडिएको छ। यद्यपि रसुवागढी पूर्ण रूपमा बन्द नभए पनि सडकको अवस्थाका कारण बेलाबेला अवरुद्ध हुने गरेको छ।

तातोपानीबाट आउने सामान रसुवागढी हुँदै ल्याउन थालिएपछि त्यहाँ अस्वाभाविक रूपमा चाप बढेको छ। यसले ढुवानी भाडादेखि अन्य लजिस्टिक खर्चमा वृद्धि गरेको छ।

“रसुवाबाट सामान आइरहेको छ, तर तातोपानीको चाप पनि त्यहीँ पुगेपछि भाडा बढ्ने, ढुवानीमा ढिलाइ हुने र लागत वृद्धि हुने समस्या देखिएको छ,” पराजुलीले भने।

तातोपानी क्षेत्रमा पर्याप्त पार्किङ तथा भण्डारण पूर्वाधारको अभावले समस्या थप जटिल बनेको छ। पहिरोका कारण धेरै कन्टेनर बाटोमै रोकिएका छन् भने भन्सारको आइसिडी क्षेत्रसमेत जोखिममा परेको छ।

हालै सुक्खा पहिरो जाँदा केही कन्टेनर क्षतिग्रस्त भएको उल्लेख गर्दै पराजुलीले कतिपय स्थानमा रोकिएका कन्टेनर कुनै पनि बेला थप पहिरोमा बग्न सक्ने जोखिम रहेको बताए। “कन्टेनर सुरक्षित राख्ने ठाउँसमेत पाइएको छैन। कन्टेनरभित्रका सामान पनि जोखिममा छन्। कतिबेला पहिरोले बगाउने हो भन्ने चिन्ता छ,” पराजुलीले भने।

दशैं-तिहार लक्षित सामान रोकिँदा व्यवसायी चिन्तित

नेपालमा चीनबाट आयात हुने अधिकांश वस्तु चाडपर्व लक्षित तथा फेसेनेबल प्रकृतिका हुन्छन्। अहिले बाटोमा रोकिएका सामानमध्ये धेरै दशैँ, तिहार र तीज लक्षित रहेको पराजुलीले बताए।

“व्यवसायीले सिजनलाई लक्षित गरेर सामान ल्याएका हुन्। तर दुई महिनादेखि बाटोमै रोकिँदा लगानी नै फ्रिज भएको छ। समयमा बजारमा सामान नआए व्यवसायीले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था छ,” पराजुलीले भने।

यसको असर उपभोक्तामा समेत पर्ने पराजुलीको भनाइ छ। चाडपर्वका बेला बजारमा उपलब्ध हुने सामग्रीको अभावसँगै मूल्यवृद्धिको दबाब बढ्न सक्ने पराजुलीले बताए।

“सामान ढिला आइपुग्दा डिटेन्सन, डेमरेज, ढुवानी तथा अन्य अतिरिक्त खर्च थपिन्छन्। ती सबै लागत अन्ततः उपभोक्तामाथि नै जाने भएकाले केही प्रतिशत मूल्यवृद्धि हुने निश्चित छ,” पराजुलीले भने।

वैकल्पिक नाका सञ्चालनको माग

नेपाल-चीन व्यापारलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन थप नाका सञ्चालन गर्नुपर्ने आवश्यकता पराजुलीले औँल्याए। हाल तातोपानी, रसुवागढी र कोरला नाका सञ्चालनमा रहेको भए पनि अन्य सम्भावित नाकाको विकासमा सरकार गम्भीर हुनुपर्ने पराजुलीको भनाइ छ।

दोलखाको लामाबगर, गोरखा तथा हुम्ला क्षेत्रका नाकालाई सञ्चालनमा ल्याउन व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएका छन्।

विशेष गरी लामाबगर नाका सञ्चालनको सम्भावना अध्ययन भइरहेको पराजुलीले जानकारी दिए। “तीन नाकामा मात्र निर्भर हुँदा एउटा बन्द भए सम्पूर्ण व्यापार प्रभावित हुन्छ। त्यसैले थप नाका खोल्नु अहिलेको आवश्यकता हो,” पराजुलीले भने।

पूर्वाधार सुधारमा जोड

सडक, भन्सार यार्ड, आइसिडी, पार्किङ र लजिस्टिक पूर्वाधार सुधार नगरी नेपाल-चीन व्यापारलाई दिगो बनाउन नसकिने महासचिव पराजुलीले बताए। संघले विभिन्न मन्त्रालय, विभाग, सांसद र सरकारी निकायसँग पटक-पटक छलफल गर्दै आएको पराजुलीको भनाइ छ।

हालै सङ्घका पदाधिकारीहरू तातोपानी पुगेर स्थलगत निरीक्षणसमेत गरेको पराजुलीले बताए। “स्थिति निकै जटिल छ। पहिरो पार गरेर जोखिमपूर्ण रूपमा स्थलगत अध्ययन गर्नुपरेको थियो,” पराजुलीले भने।

चीनमा ठूलो बजार, तर नेपालको उत्पादन क्षमता कमजोर

चीनले नेपालबाट आयात गर्न सकिने ८ हजारभन्दा बढी वस्तुमा सहुलियत दिएको छ। तर नेपालको उत्पादन क्षमता कमजोर भएकाले त्यसको पर्याप्त लाभ लिन सकिएको छैन।

मासुजन्य वस्तु, सिट्रस फलफूल, कृषि उत्पादन, चिया तथा हस्तकलाका सामग्री चीनमा ठूलो सम्भावना बोकेका क्षेत्र भएको पराजुलीले बताए। तर अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशाला, गुणस्तरीय उत्पादन र निर्यात पूर्वाधारको अभावले निर्यात विस्तारमा बाधा पुगेको पराजुलीको भनाइ छ।

“चीनमा विशाल बजार छ। गुणस्तरीय उत्पादन गर्न सकियो भने नेपाली कृषि तथा हस्तकलाका वस्तुको निर्यात उल्लेखनीय रूपमा बढाउन सकिन्छ,” पराजुलीले भने।

हाल नेपालबाट चिया, हस्तकलाका सामग्री, तामाका भाँडाकुँडा, मुडा तथा केही खाद्यवस्तु चीन निर्यात भइरहेका छन्। तर व्यापार सन्तुलन कायम गर्न नेपालले उत्पादन क्षमता र निर्यात पूर्वाधार विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको पराजुलीले औँल्याए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *