ट्याक्सीमान्डुका संस्थापक अर्जुन केसी: संकट छिचोल्दै उबरको रणनीतिक साझेदारसम्मको यात्रा
काठमाडौं। व्यवस्थापन अध्ययन गरेर पनि सन् २००३ देखि प्रविधि क्षेत्रमा निरन्तर सक्रिय अर्जुन केसीको व्यावसायिक यात्रा परम्परागत धारभन्दा फरक रहँदै आएको छ।
औपचारिक प्राविधिक शिक्षाको अभावका बाबजुद व्यावसायिक तालिम र व्यावहारिक अनुभवका आधारमा आफ्नो दक्षता बढाएका केसीको त्यही फरक पृष्ठभूमिले अन्ततः उनको उद्यमशीलताको जग बसाल्यो।
हङकङस्थित एक कम्पनीमा करिब आठ वर्ष काम गरेपछि केसी सन् २०१६ मा आफ्नै व्यवसाय सुरु गर्ने लक्ष्यका साथ नेपाल फर्किए। सुरुमा मिडिया सामाग्री उत्पादन गर्ने कम्पनी खोले पनि त्यो व्यावसायिक रूपमा नाफामूलक हुन सकेन।
पहिलो प्रयास असफल भएपछि केसीले विदेशमा रहँदा आफैँले भोगेको सवारी साधन बुक गर्ने प्रविधि (राइड-हेलिङ) को समस्यातर्फ ध्यान मोडे। त्यतिबेला काठमाडौँमा राइड-सेयरिङ प्लेटफर्महरू भित्रिइसकेकाले सबै क्षेत्रमा प्रतिस्पर्धा गर्नुको सट्टा उनले केवल ट्याक्सी सेवामा ध्यान केन्द्रित गर्ने निर्णय गरे।
उत्पादन तयार हुनुअघि नै बजार अनुसन्धान टोली खटाएका केसीले वर्षौंसम्म नाफा नहुने जोखिमका बाबजुद बैंकबाट ऋण लिएर ‘ट्याक्सीमान्डु’ सञ्चालनमा ल्याए। तर, सेवा सुरु भएको चार महिनामै कोभिड-१९ महामारीका कारण व्यवसाय ठप्प भयो र ठूलो सङ्ख्यामा कर्मचारी कटौती गर्नुपर्यो।
संकटका बाबजुद केसीले हार मानेनन्। लकडाउनको समयलाई प्रविधि सुधार र व्यावसायिक मोडेल परिमार्जनमा प्रयोग गरे। त्यही कठिन समयमा गरिएका सुधारकै बलमा पछि ट्याक्सीमान्डु नेपालका लागि बहुराष्ट्रिय कम्पनी ‘उबर’ को रणनीतिक साझेदार बन्न सफल भयो।
ट्याक्सी चालकहरूलाई स्मार्टफोन प्रविधिमा अभ्यस्त गराउँदै र ग्राहकको विश्वास जित्दै अघि बढेका केसीले सिलिकन भ्याली तथा सान फ्रान्सिस्कोका अन्तर्राष्ट्रिय स्टार्टअप प्रतियोगिताहरूमा समेत ट्याक्सीमान्डुको प्रतिनिधित्व गरिसकेका छन्।
केसीले नेतृत्व, उद्यमशीलता र गतिशीलता (मोबिलिटी) प्लेटफर्म निर्माणका अनुभव साटेका छन्।
केसीका अनुसार नेतृत्व भनेको अगाडि उभिनु मात्र नभई अरूका लागि अवसर सिर्जना गर्नु र आफू नहुँदा पनि निरन्तर मूल्य सिर्जना गर्ने प्रणाली बनाउनु हो। नेतृत्व जन्मजात नभई अनुभव, असफलता, सहनशीलता र निरन्तर सिकाइबाट हासिल हुने उनको ठहर छ।
आफ्नो नेतृत्वको ठूलो परीक्षा कोभिड महामारीको समयमा भएको उल्लेख गर्दै केसीले वास्तविक नेतृत्व सफलतामा नभई सङ्कटमा कसरी प्रतिक्रिया दिइन्छ भन्ने कुरामा निर्भर हुने बताए।
सबैसँग प्रतिस्पर्धा गर्नुको सट्टा विश्वव्यापी कम्पनीहरूले विश्वास गर्न सक्ने मूल्य सिर्जना गर्नु र साझेदारी निर्माण गर्नु नै आफ्नो सफलताको मुख्य रणनीति रहेको उनको भनाइ छ।
संस्थालाई आफूभन्दा अगाडि लैजान सक्ने अर्को व्यक्ति तयार भएपछि नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै केसीले नेतृत्व सत्ताप्रतिको मोह नभई जिम्मेवारी भएको र लक्ष्य व्यक्तिमाथिको निर्भरता नभई संस्थाको निर्माण गर्नु रहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment