देउवाको आक्रोस- राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छन् यहाँ?
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत नसकेको बताउँदै अन्य कसैले पनि केही गर्न नसक्ने दाबी गरेका छन्।
विदेशबाट स्वदेश फर्किएलगत्तै बिहीवार कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा देउवाले आफू र आफ्नी पत्नी डा. आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रियदेखि देशका विभिन्न निकायमा मुद्दा चलाएर फसाउने षड्यन्त्र भएको आरोप लगाए।
अदालतले आफूहरूलाई पक्राउ नगर्न आदेश दिएको र सम्पत्ति शुद्धीकरण आयोगको छानबिनमा समेत केही नफेला परेको उल्लेख गर्दै उनले भने, ‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो। तैपनि बदमासी गर्यो। सम्पत्ति शुद्धीकरण आयोग पहिलोपल्ट आयो, केही पनि छैन भन्यो, दोस्रोपल्ट आयो, केही छैन भन्यो।’
देशमा सचेत नागरिक र न्यायपालिका अझै पनि जीवित रहेको बताउँदै देउवाले अब सबै कुरा स्पष्ट पार्दै जाने चेतावनी दिए।
‘यो देशको जनता छ, यो देशको अदालत छ। सबले जानेको छ, बुझेको छ,’ देउवाले भने, ‘राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेन भने अरूले यहाँ के गर्न सक्छन्?’
No ads found for this position

डिसी नेपाल
Facebook Comment