जलन उपचार तथा पुनर्स्थापनासम्बन्धी विधेयकको मस्यौदामा सार्वजनिक राय माग

डिसी नेपाल
२९ साउन २०८३ ८:०८

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ।

मन्त्रालयले विधेयकलाई थप प्रभावकारी र व्यवहारिक बनाउन सम्बन्धित सरोकारवाला निकाय, विज्ञ तथा सर्वसाधारणबाट सुझाव माग गरेको हो। मन्त्रालयको निर्णयअनुसार कानुन शाखाले विधेयकको मस्यौदा सार्वजनिक गर्दै त्यसमा आवश्यक राय, सुझाव तथा टिप्पणी उपलब्ध गराउन आह्वान गरेको छ।

मन्त्रालयले मानव शरीरमा हुने जलनका घटनाको उपचार, पुनर्स्थापना तथा सम्बन्धित व्यवस्थालाई कानुनी आधार प्रदान गर्ने उद्देश्यले विधेयकको मस्यौदा तयार गरेको जनाएको छ। जलनका कारण गम्भीर स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिको उपचार तथा पुनर्स्थापनालाई व्यवस्थित बनाउन कानुनी व्यवस्था आवश्यक रहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयको कानुन शाखाले सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई विधेयकको मस्यौदा अध्ययन गरी आवश्यक सुझाव पठाउन आग्रह गरेको छ। प्राप्त सुझाव तथा टिप्पणीलाई विधेयकको मस्यौदा परिमार्जन गर्ने क्रममा आवश्यकताअनुसार समेटिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सार्वजनिक राय तथा सुझाव संकलनपछि विधेयकलाई आवश्यक कानुनी प्रक्रियाअनुसार अघि बढाइनेछ। स्वास्थ्यसम्बन्धी आवश्यक ऐन तथा नियमावली तर्जुमा, संशोधन तथा परिमार्जनका साथै कानुनी राय–सुझाव दिने काम मन्त्रालयको कानुन शाखाले गर्दै आएको छ।

मन्त्रालयले राय, सुझाव तथा टिप्पणी पठाउन ७ दिनको समयसीमा तोकेको छ। इच्छुक व्यक्ति तथा सरोकारवालाले भदौ ३ गतेसम्म निर्धारित ढाँचामा आफ्ना सुझाव मन्त्रालयसमक्ष पठाउन सक्नेछन्।

मन्त्रालयले जलन उपचार तथा पुनर्स्थापनासम्बन्धी कानुनी व्यवस्थालाई थप स्पष्ट, प्रभावकारी र व्यवहारिक बनाउन सार्वजनिक सुझाव महत्वपूर्ण हुने जनाएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *