किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश ढकालको इजलासमा पहिलो नम्बरमा

डिसी नेपाल
२९ साउन २०८३ १०:५४

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ।

पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको उक्त रिट निवेदनमाथि सुनुवाइका लागि शुक्रबार न्यायाधीश ढकालको इजलासमा पेसी सूचीकृत भएको हो।

काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) लाई मुख्य विपक्षी बनाएर दायर गरिएको रिटमा श्रेष्ठलाई थुनामुक्त गर्न र गैरकानुनी पक्राउबारे कारण देखाऊ आदेश जारी गर्न माग गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरकान्त चौधरी र एक युवतीसँग जोडिएको तस्बिर सामग्री ‘जनआस्था डटकम’मा प्रकाशन भएपछि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट नियन्त्रणमा लिएको थियो।

काठमाडौँ जिल्ला अदालतले बिहीबार नै अनुसन्धानका लागि श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। यता, पत्रकार श्रेष्ठका तर्फबाट कानुन व्यवसायीहरूले भने मिडियामा समाचार छापेकै आधारमा प्रहरीले पक्राउ गरी हिरासतमा राख्नु प्रेस स्वतन्त्रता र मौलिक हक विपरीत भएको जिकिर गर्दै सर्वोच्च पुगेका हुन्।

आज सर्वोच्च अदालतको पहिलो नम्बरमै पेसी परेकाले बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक बहस सुनुवाइ भई विपक्षीका नाममा कारण देखाऊ आदेश जारी हुने वा नहुने विषयमा शीघ्र निर्णय आउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *