सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी, आजै शपथ लिने तयारी
धनगढी। सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट चयन हुने निश्चित भएको छ।
सत्ता साझेदार दल नेकपा एमालेको समर्थनसहित भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन्।
नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय सीमा दिएका थिए।
सोही समयभित्रै एमाले र नेकपाको सहमति अनुसार भट्टले बहुमतको समर्थनसहित दाबी पेस गरेका हुन्। प्रदेश प्रमुखले दाबी स्वीकृत गरी आजै भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३:०० बजे पद तथा गोपनीयताको शपथ गराउने गरी तयारी भइरहेको छ।
खगराज भट्ट सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालका लागि पाँचौँ मुख्यमन्त्री बन्दै छन्। उनी डडेल्धुरा प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित सांसद हुन्। सुदूरपश्चिम प्रदेश सभामा २२ सिटसहित नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो दलका रूपमा रहेको छ भने एमालेसँग ११ सिट रहेको छ।
नयाँ समीकरण अनुसार मन्त्रालय भागबन्डासमेत टुङ्गिसकेको छ, जसअन्तर्गत नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन वटा मन्त्रालय पाउने सहमति भएको छ। मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment