दल दर्ता नहुँदै टुट्यो धवल र दुर्गा प्रसाईंको सहयात्रा
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति रक्षाका लागि भन्दै दुई महिनाअघि मात्रै नयाँ राजनीतिक शक्ति निर्माणमा हात मिलाएका पूर्वसांसद डा. धवल शम्शेर राणा र राष्ट्रिय अभियानका संयोजक दुर्गा प्रसाईंबीच निर्वाचन आयोगमा दल दर्ता नपुग्दै औपचारिक विभाजन आएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पद त्यागेका धवल शम्शेर राणाले शुक्रबार निर्वाचन आयोगमा पुगेर ‘जय नेपाल पार्टी’ दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्। तर, अघिल्लो दिनसम्म सहयात्रामा रहेका दुर्गा प्रसाईं र उनको समूह भने उक्त प्रक्रियाबाट अलग भएको छ।
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र निर्माणको एजेन्डामा दुई महिनाअघि धवल र दुर्गाबीच सहकार्यको सुरुवात भएको थियो।
सुरुवाती सहमति अनुसार धवल शम्शेर अध्यक्ष र दुर्गा प्रसाईंलाई ‘सर्वोच्च नेता’ बनाएर १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने तय भएको थियो। जसमा धवल पक्षका ४०, प्रसाईं पक्षका ४० र तटस्थ २० जना रहने खाका बनाइएको थियो। चुनाव चिह्न ‘त्रिभुज’ राख्ने सहमतिसमेत भइसकेको थियो।
तर, दल दर्ताको अन्तिम तयारी भइरहँदा पार्टीमा ‘को शक्तिशाली हुने’ र वरीयता कसको माथि रहने भन्ने विषयमा दुई नेताबीच हानाथाप सुरु भयो।
प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने र महत्त्वपूर्ण कार्यकारी अधिकार बाँडफाँड हुनुपर्ने अडान राखेका थिए। धवल पक्षले भने प्रसाईंको यो मागलाई अस्वीकार गर्यो।
विवाद चुलिँदै जाँदा प्रसाईंले एक अन्तर्वार्तामा ‘राणाहरू राजा ल्याउन चाहँदैनन्’ भन्दै धवल शम्शेरप्रति लक्षित टिप्पणी गरेपछि दुई नेताबीचको दूरी झनै फराकिलो बन्यो।
पार्टी दर्ताको समयका विषयमा पनि दुवै पक्षबीच कुरा मिलेन। प्रसाईं पक्षले लघुवित्त तथा मिटरब्याज पीडितहरूको आन्दोलनमा व्यस्त रहेको र शुक्रबार ‘राम्रो साइत नभएको’ भन्दै केही दिनपछि मात्रै आयोग जाने प्रस्ताव गरेको थियो। तर, राणा पक्षले पूर्वघोषित मिति (शुक्रबार) मै दर्ता गरेर छाड्ने अडान लिएपछि सहयात्रा टुङ्गिएको हो।
आफ्नो समूह दर्ता प्रक्रियामा सहभागी नभएपछि प्रसाईंले सामाजिक सञ्जालमार्फत बेग्लै राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
“अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिक, सबै जातजाति र धर्मको साझा पार्टी हुनेछ। वैदिक सनातनी हिन्दु अधिराज्यसहितको यो पार्टी देशका पीडित, शोषित र उत्पीडित नागरिकको हक-अधिकारका लागि समर्पित हुनेछ,” प्रसाईंले लेखेका छन्, “केही समय धैर्य गर्नुहोला, तपाईं-हाम्रो पार्टी छिट्टै खुल्नेछ।”
अर्कोतर्फ धवल शम्शेर राणाकी प्रेस संयोजक राधिका जोशी र नेता सगुनसुन्दर लावतीले भने प्रसाईं समूहसँग अझै पनि संवादको ढोका खुला रहेको र पछि उनीहरू जोडिन सक्ने दाबी गरेका छन्। तर, प्रसाईं पक्षले भने आयोगमा निवेदन परेको ‘जय नेपाल पार्टी’मा नजाने र आफ्नै नेतृत्वमा नयाँ दल घोषणा गर्ने तयारी तीव्र पारेको छ।
No ads found for this position



डिसी नेपाल
Oho sundai chhakka pare suru nahudai gadbad, ho timi haru Desh ra janta ko lagi gayekai hoinau vanne prasta praman yehi ho, yesta rog sabai party ma chhan, ho ta kewal lootna, thugna, paiso hasurera, moz masti garna,afna jati lai thau thau ma puryauna, jasari hunchha lootna, politics vaneko kunnai pani lov navayeka, imandar, sarkar ko paiso chalaunu paro vane ekdamai minimize, no afno arka all same no up and down,adi adi, so you all totally unfit,