काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले उनलाई विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले प्रा.डा. बरालको नाम सिफारिस गरेको थियो। केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक रहेका बराल आफ्नै विश्वविद्यालयबाट पढेर उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्।
उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका थिए। सोही आवेदनमध्येबाट १० जनाको संक्षिप्त सूची सार्वजनिक गरी उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो। मेरिटको आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरिएको समितिको दाबी छ।
नवनियुक्त उपकुलपति बरालले काठमाडौं विश्वविद्यालयबाटै मेकानिकल इन्जिनियरिङमा स्नातक तह पूरा गरेका हु्न्। त्यसपछि उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) हासिल गरेका थिए।
इन्धन तथा ऊर्जा, दहन विज्ञान र वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा विज्ञता राख्नुहुने बराल केयूमा उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका हुन्।
उनले विश्वविद्यालयमा ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन र हिट एन्ड पावर इन्जिनियरिङलगायतका विषयहरू अध्यापन गराउँदै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment