देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै लेखकले पार्टीलाई एकताबद्ध बनाउन विगतमा विभिन्न प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए। उनले पार्टी एकताका लागि अझै निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए।
‘नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुनेछ, यो हामी सबैले विश्वास गर्न सक्छौँ। आज कांग्रेसका साथीहरू मात्र होइन, देशभरका लोकतन्त्रवादीहरू र लोकतन्त्रमा विश्वास गर्नेहरूले चाहेको पनि यही हो,’ उनले भने।
लेखकले कांग्रेसलाई एकताबद्ध गर्न आफूहरूबाट विभिन्न प्रयास भएको भए पनि त्यसले परिणाम दिन नसकेको बताए। पार्टी एकताका लागि आफू व्यक्तिगत रूपमा पनि विभिन्न घटनामा जोडिएको र त्यसलाई नजिकबाट देखेको उनको भनाइ थियो।
‘हामीले कांग्रेसलाई एकताबद्ध गर्नका निम्ति निकै प्रयत्न र कोसिस गरेका छौँ। हामीले पार्टीलाई एकताबद्ध गर्न सकेका छैनौँ। अझै पनि प्रयत्न र प्रयास गर्नुपर्छ र पार्टीलाई एकताबद्ध गर्नुपर्छ,’ उनले भने।
यसैगरी कांग्रेस नेता दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियारका रूपमा प्रयोग गरेर’ कांग्रेस लुटिएको आरोप लगाए। उनले त्यसलाई अपराधको संज्ञा दिँदै क्षम्य नहुने बताए।
‘निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर कांग्रेस लुटेर लगिएकै हो। त्यो अपराध हो, क्षम्य हुँदैन। सर्वोच्च अदालतबाट केही राहत महसुस भएको छ। हामीले न्याय पाउने विश्वास गरेका छौँ,’ खड्काले भने।
कांग्रेस नेता कान्छाराम तामाङले चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवाको सभापतिको हैसियतमा बोर्ड कसैलाई नसोधी आफूले राखेको बताए। उनले शशाङ्कले देउवालाई फिल्म हेराएको प्रसङ्ग निकाल्दै गगनलाई पनि एकपटक हेराइदिन आग्रह गरे।
‘शेरबहादुर दाइ चुनदेवीमा जानुभयो। त्यहाँ सभापतिको बोर्ड पनि मैंले कुनै पनि नेताजीहरूलाई नसोधीकन राखिदिएको छु। अब शेरबहादुर दाइले अरूलाई फिल्म नहेराए पनि एकचोटी गगनकुमार थापालाई राम्रो हलमा लगेर फिल्म हेराइदिनुस्,’ उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment