बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते
रौतहट। बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किएर बसमा सवार तीर्थयात्री गरुडा नगरपालिका–६ का ६० वर्षीय नवलकिशोर जयसवाल र निजकी श्रीमती सुन्दरबाला देवी तथा १२ वर्षीय शिवम महतोको मृत्यु भएको हो।
गरुडा नगरपालिका–६ का वडाध्यक्ष रामबाबु चौधरीले बस दुर्घटनामा परी आफ्ना गाउँका तीन जना तीर्थयात्रीको मृत्यु भएको र १५ जना जति घाइते भएको जानकारी दिए। उनका अनुसार बसमा करिब ४५ जना नेपाली तीर्थयात्री रहेको र घाइतेहरूको झारखण्डअन्तर्गत सतगावाँस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परी मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीका बासिन्दा रहेका छन्। बस दुर्घटनामा परेको जानकारी पाउनासाथ मृतक तथा घाइतेका आफन्तजन घटनास्थलतर्फ गएको र गरुडा–६ स्थित पोठियाही गाउँ अहिले शोकमा डुबेको वडा अध्यक्ष चौधरीले जानकारी दिए।
सोही घटनाका विषयमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले पाँच दिनअघि बाबाधाम प्रस्थान गरेका धार्मिक तीर्थयात्री सवार बस आज बिहान झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किदा तीन जनाको मृत्यु र १२ जना घाइते भएको बताए।
उनले मृतकको शव नेपाल ल्याउन र घाइते तीर्थयात्रीको उपचारको व्यवस्था मिलाउन झारखण्डस्थित प्रहरी संयन्त्रसँग पहल गरिएको र आवश्यक देखिए घटनास्थलतर्फ जाने तयारीसमेत भइरहेको जानकारी दिए।
यसैबीच स्थानीयवासीको तर्फबाट निधन भएकाको शव नपाल ल्याउन र घाइतेहरूको राम्रोसँग उपचार व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ। रौतहटमा पछिल्ला वर्षहरूमा पहेँलो वस्त्र पहिरेर बोलबम भन्दै बाबाधाम तीर्थयात्रा जानेक्रम बढेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment