विभिन्न १० जिल्लाबाट अवैध लागुऔषधसहित २५ जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीको नियमित गस्ती टोलीले देशका विभिन्न १० जिल्लाबाट ठूलो परिमाणको अवैध लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार गत शुक्रबार र शनिबार सञ्चालन गरिएको कारबाहीका क्रममा कास्की, मोरङ, सुनसरी, बर्दिया, धनुषा, झापा, ललितपुर, कैलाली, तनहुँ र उदयपुरका विभिन्न स्थानबाट टापेन्टाडोल, ब्राउनसुगर, गाँजा, खैरो हेरोइन, ट्रामाडोल, पोलेन र प्रेगाब्लिनलगायतका लागुऔषध बरामद गरिएको हो।
कारबाहीका क्रममा कास्कीको पोखरा महानगरपालिका-१ सिम्पानी र पोखरा-२५ हेम्जाबाट कुल १ हजार २० ट्याब्लेट टापेन्टाडोलसहित सन्दिप गुरुङ र २१ वर्षीय लुकास तामाङसहित ६ जना पक्राउ परेका छन्।
यस्तै मोरङका सुन्दरहरैँचा, लेटाङ र कानेपोखरीबाट ब्राउनसुगर र गाँजासहित प्रसान्त मगर, निमेस घिमिरे र १८ वर्षीय एक किशोर गरी तीन जना समातिएका छन्।
सुनसरीको इटहरी-१० बाट ५ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित मोहन गुरुङसहित तीन जना, बर्दियाको बढैयातालबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित ५२ वर्षीय दिवे सुनार र धनुषाको विदेहबाट ३९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय उमेश मण्डल पक्राउ परेका छन्।
त्यसैगरी झापाको बिर्तामोडबाट ४९० मिलिग्राम ब्राउनसुगरसहित सन्तोष राजवंशी पक्राउ परेका छन् भने ललितपुरका हरिसिद्धी र इमाडोलबाट ट्रामाडोल, पोलेन, टापेन्टाडोल र प्रेगाब्लिनसहित सुरज तामाङ र खगेन्द्रबहादुर राउतसहित तीन जना पक्राउ परेका छन्।
कैलालीको धनगढीबाट १ ग्राम ११३ मिलिग्राम ब्राउनसुगरसहित क्रिस बमसहित चार जना, तनहुँको व्यासबाट १ किलो ५५० ग्राम गाँजासहित मनोज थापासहित दुई जना र उदयपुरको कटारीबाट ६१ ट्याब्लेट टापेन्टाडोलसहित सलम खानसहित दुई जना पक्राउ परेका हुन्। पक्राउ परेका सबैजनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment