बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे मन्त्री तिमिल्सिना र कार्यवाहक प्रमुख डंगोलबीच छलफल
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलका समस्या, स्थानीयवासीका गुनासा तथा व्यवस्थापन सुधारका विषयमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका छन्।
छलफलमा बञ्चरेडाँडा पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न आवश्यक बजेट छुट्याउनुपर्ने, फोहोर बोकेका सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने र फोहोर विसर्जनपछि माटोले छोप्ने काम प्रभावकारी बनाउनुपर्ने विषय उठाइएको थियो। स्थानीयवासीले सडकको खराब अवस्था, दुर्गन्ध तथा स्वास्थ्यमा परेको असरबारे गुनासो गर्दै आएका छन्।
मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडाका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। फोहोर व्यवस्थापनस्थलमा पुग्ने फोहोरको मात्रा घटाउने, स्रोतमै फोहोर छुट्याउने र संकलन तथा ढुवानी प्रणाली सुधार गर्नुपर्नेमा उनले जोड दिएका थिए।
कार्यवाहक प्रमुख डंगोलले बञ्चरेडाँडामा काठमाडौंसहित अन्य २० स्थानीय तहको फोहोर जाने भए पनि व्यवस्थापनको अधिकांश आर्थिक भार काठमाडौँ महानगरपालिकाले मात्र व्यहोर्दै आएको बताइन्। उनले अन्य स्थानीय तहलाई पनि आर्थिक तथा व्यवस्थापनको जिम्मेवारीमा सहभागी गराउनुपर्ने बताइन्।
हाल दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेका छन्। काठमाडौं महानगरपालिकाका अनुसार त्यहाँ पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने छ। फोहोरको स्रोतमै वर्गीकरण, संकलन केन्द्र विस्तार र दीर्घकालीन व्यवस्थापनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment