कथा र तस्बिरमा देखियो सिजाङको जीवन्त चित्र, चीन–नेपालबाट करिब ६ सय सहभागी

डिसी नेपाल
४ भदौ २०८३ १९:२०

काठमाडौं । काठमाडौंमा ‘सिजाङ पानोरमा : नयाँ युग, नयाँ विकास’ विषयक कथा साझेदारी मञ्च सम्पन्न भएको छ। चीन र नेपालका विभिन्न क्षेत्रका करिब ६ सय सहभागीको उपस्थितिमा मंगलबार आयोजित कार्यक्रममा सिजाङको विकास, संस्कृति, सामाजिक जीवन, वातावरण तथा सीमावर्ती क्षेत्रसँग जोडिएका विविध पक्षबारे अनुभव र कथा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) राष्ट्रिय समितिको स्थायी समितिका सदस्य तथा जातीय र धार्मिक मामिला समितिका उपनिर्देशक एवं चीन मानवअधिकार अध्ययन समाजका कार्यकारी उपाध्यक्ष च्याङ च्याङकुओ, नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङलगायत चीन र नेपालका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै च्याङ च्याङकुओले यस वर्ष सिजाङको शान्तिपूर्ण मुक्ति भएको ७५ वर्ष पूरा भएको उल्लेख गरे। पछिल्ला ७५ वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारले जनताको जीवनयापन तथा विकासको अधिकारलाई आधारभूत मानवअधिकारका रूपमा प्राथमिकता दिँदै आएको उनको भनाइ थियो।

व्यक्तिको स्वतन्त्र र समग्र विकासलाई आधारभूत मूल्यका रूपमा अघि बढाउँदै चीनले आफ्नो राष्ट्रिय परिस्थितिअनुकूल मानवअधिकार विकासको मार्ग निर्माण गरेको उनले बताए।

सिजाङमा आएको परिवर्तन नयाँ युगमा चीनको मानवअधिकार विकासको महत्वपूर्ण उदाहरण भएको च्याङको भनाइ थियो।

नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको प्रवर्द्धन तथा संरक्षणका लागि चीनले गरेको प्रयासको प्रशंसा गरे। चिनियाँ मानवअधिकारसम्बन्धी संस्थासँगको सहकार्य र अनुभव आदानप्रदान नेपालका लागि महत्वपूर्ण रहेको बताउँदै उनले मानवअधिकारका क्षेत्रमा चीनसँगको सहकार्यलाई थप विस्तार गर्न आयोग प्रतिबद्ध रहेको बताए।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ‘गतिशील सिजाङ, खुला सिजाङ, सामञ्जस्यपूर्ण सिजाङ र हरित सिजाङ’को विकास अवधारणाले नेपाल–चीनबीचको हिमालयपार सहकार्यलाई थप गहिरो बनाउन उपयोगी आधार प्रदान गर्ने बताए।

सिजाङले आर्थिक तथा सामाजिक विकाससँगै स्थानीय तहको शासन व्यवस्थामा हासिल गरेको अनुभव नेपालका लागि समेत उपयोगी हुन सक्ने उनको भनाइ थियो। चीन नेपालसँग मिलेर विकासका सम्भावनालाई व्यवहारिक सहकार्यमा रूपान्तरण गर्दै दुवै देशका जनताको हित र समृद्धिका लागि काम गर्न इच्छुक रहेको उनले बताए।

मञ्चमा सिजाङका चार प्रमुख प्राथमिकता- स्थायित्व, विकास, पर्यावरण संरक्षण तथा सीमावर्ती क्षेत्रको विकासलाई केन्द्रमा राखेर चारवटा विषयगत सत्र सञ्चालन गरिएको थियो।

‘खुला सिजाङलाई नियाल्दै’, ‘गतिशील सिजाङलाई नियाल्दै’, ‘सामञ्जस्यपूर्ण सिजाङलाई नियाल्दै’ र ‘हरित सिजाङलाई नियाल्दै’ शीर्षकका सत्रमा चीन तथा नेपालका सहभागीहरूले आफ्ना प्रत्यक्ष अनुभव, कथा र तस्बिर प्रस्तुत गरेका थिए। ती प्रस्तुतिले सिजाङको सामाजिक, सांस्कृतिक, आर्थिक तथा प्राकृतिक विविधतालाई नजिकबाट बुझ्ने अवसर दिएको थियो।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष कुमार आचार्यले यसै वर्ष जुनमा गरेको सिजाङ भ्रमणको अनुभव पनि सुनाए।

ल्हासाका ऐतिहासिक गल्लीदेखि ग्रामीण क्षेत्रका आधुनिक पशुपालन फार्मसम्म पुग्दा आफूले परम्परागत सांस्कृतिक पहिचान र प्राकृतिक वातावरणप्रतिको सम्मान कायम राख्दै आधुनिकीकरणतर्फ अघि बढिरहेको सिजाङ देखेको आचार्यले बताए।

मञ्चका विषयगत सत्रमा नेपालबाट सहभागी कलाकार तथा सिर्जनाकर्मीहरूले समेत आफ्ना सिजाङ भ्रमणका प्रत्यक्ष अनुभव र अनुभूति प्रस्तुत गरेका थिए। अभिनेता बुद्धि तामाङले ‘सुन्दर र सद्भावपुर्ण सिजाङको खोजी’ शीर्षकमा सिजाङको सामाजिक सद्भाव, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबारे आफ्नो अनुभव सुनाए। मिस पाबीले ‘खुला सिजाङको खोजी’ शीर्षकमा सिजाङ भ्रमणका क्रममा देखेका खुलापन, स्थानीय जीवनशैली र आफ्ना अनुभव साझा गरिन्।

त्यसैगरी भ्लगर साङ्केन राई र पत्रकार अनिल यादवले ‘हरित सिजाङको खोजी’ शीर्षकमा सिजाङको हरियाली, वातावरण संरक्षण र प्राकृतिक सम्पदासँग सम्बन्धित आफ्ना भ्रमण अनुभव सुनाए। उनीहरूले सिजाङमा प्रत्यक्ष देखेका प्राकृतिक सौन्दर्य, वातावरण संरक्षणका प्रयास तथा हरित विकासका अभ्यासबारे सहभागीलाई जानकारी गराएका थिए।

चीन मानवअधिकार अध्ययन समाज, नेपालको त्रिभुवन विश्वविद्यालय र नेपाल राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मञ्च सञ्चालन गरिएको हो। कार्यक्रमसँगै ‘सिजाङ पानोरमा’ फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो, जसमा सिजाङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, जनजीवन तथा विकासका विभिन्न पक्ष झल्काउने तस्बिरहरू प्रस्तुत गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *